एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै – Nepal Press

एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै

रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित बनेर चर्चामा आएकी छन् । विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन् ।

लुम्बिनी विश्वविद्यालयमा स्नातक पढ्दै गरेकी उनले एमाले नेता खिमलाल भट्टराई, विद्यार्थी नेता बालकृष्ण पाण्डे, सन्दिप गुप्तालगायतका अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको बताइन् । राजनीतिबाटै समाजका धेरै समस्या समाधान गर्न सकिने र त्यो सपना एमालेबाट पूरा हुने ठानेर आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

‘तराई क्षेत्रमा महिलालाई राजनीतिमा धेरै समस्या भएको सुनेकी छु, शुरुमा मलाई पनि धेरै समस्या भएको थियो । अहिले त परिवारको पूरै सहयोग छ,’ उनले नेपाल प्रेससँगको कुराकानीमा भनिन् ।

६ जनाको परिवारमा रहेकी झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव बनेसकेकी छन् ।‘ हजुरबुवा’आमा, बुवा÷आमा तथा दाई र म गरी ६ जना छौं,’ उनले भनिन्, ‘बुवा बुटवलमा मेकानिकल काम गर्नुहुन्छ, आमा गृहिणी हो, तर पनि मलाई पूरै साथ छ ।’ राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउने झरनाको भनाइ छ ।

सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् । यसले तराईमा युवा शक्ति एमालेको साथमा रहेको पुष्टि भएको एमाले नेता तथा राष्ट्रियसभा सांसद खिमलाल भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर