साढे ३ लाख विदेशी जापान प्रवेशको प्रतीक्षामा, फुकुवा गरे पनि नेपाली प्रवेश गर्न कठिन – Nepal Press

साढे ३ लाख विदेशी जापान प्रवेशको प्रतीक्षामा, फुकुवा गरे पनि नेपाली प्रवेश गर्न कठिन

जापान । कोरोना संक्रमणको फैलावट रोक्नका लागि जापानले विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध गरेपछि झण्डै ३ लाख ७० हजार विदेशीहरु जापान प्रवेश गर्ने प्रतीक्षामा छन् ।

प्रवेश प्रतिवन्धका कारण जापान आउन नपाउनेमा सबैभन्दा धेरै विद्यार्थीहरु छन् । निक्केइ पत्रिकाका अनुसार अध्ययनका लागि जापान प्रवेश गर्ने प्रतीक्षामा रहेका विद्यार्थीहरुको संख्या १ लाख ४७ हजार ८०० छ । त्यसैगरी प्रशिक्षण भिषामा १ लाख ११ हजार २००, डिपेन्डेन्ट भिषामा २८ हजार ७०० र इन्टरनेशनल सर्भिस (वर्किङ)मा २४ हजार ८०० गरी ३ लाख ७१ हजार विदेशी सूर्योदयको देश छिर्ने प्रतीक्षामा छन् ।

जापानको अध्यागमन बिभागले गत बर्षको जनवरी महिनायता ५ लाख ७८ हजार विदेशीलाई जापान प्रवेश दिने भनेर प्रमाणीकरण (भिषा जारी) गरेको थियो ।

प्रवेश प्रतिवन्ध अन्त्य गर्नुपर्ने आवाज सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीभित्रै पनि उठिरहेको निक्केइ पत्रिकाले उल्लेख गरेको छ । प्रवेश प्रतिवन्धलाई निरन्तरता दिएकोमा विपक्षी दलहरुले पनि विरोध जनाइरहेका छन् ।

प्रवेश खुला गर्ने विषयमा जापान र अमेरिकाबीच छलफलसमेत भएको थियो । अमेरिकाले नोभेम्बर महिनाको ८ तारिखदेखि खोप लगाएका विदेशीहरुलाई प्रवेश खुला गर्दैछ । छलफलका क्रममा जापानले खोप लगाएको भए पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बिषय उठाएको थियो । थाइल्याण्डले पनि नोभेम्बर महिनाको १ तारिखबाट प्रवेश प्रतिवन्ध हटाउन लागेको छ ।

जापानिज भाषा स्कूलसँग सम्बन्धित ६ वटा संस्थाले गरेको एक सर्वेक्षणमा प्रवेश प्रतिवन्धले निरन्तरता पाए बिद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको निष्कर्ष निकालेको थियो ।

जापानले यसै महिनाको ३१ तारिखको आम निर्वाचन पछि मात्रै प्रवेश खुलाउने बिषयमा छलफल सुरु गर्ने अधिकारीहरुले बताएका छन् । अमेरिकाले प्रवेश प्रतिबन्ध फुकुवा गर्नासाथ जापानले पनि गर्न सक्ने कतिपयको विश्लेषण छ ।

यदि जापानले प्रतिबन्ध फुकुवा गरे पनि पहिलो पटक जापान प्रवेश गर्न चाहने नेपालीहरु भने तत्काल सहज प्रवेश गर्न पाउने छैनन् । जापानले फाइजरको कोमिर्नटी, अस्ट्राजेनेकाको भ्याकजेभ्रिया र मोडेरनाको कोभिड–१९ भ्याक्सिन मोडेरना खोपलाई मात्र मान्यता दिने बताएको छ ।

जापानले मान्यता दिने सूचिमा राखेका खोप नेपालमा प्रयोग गरिएको छैन । त्योसँगै नेपालले जारी गर्ने भ्याक्सिन पासपोर्टलाइ जापानले मान्यता दिएको छैन । यसरी हेर्दा जापानमा नयाँ प्रवेशका लागि नेपालको सरकारले कुटनीतिक पहल गर्नुपर्ने अबस्था आउने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर