कर्णालीमा राहत सहयोग गर्न प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग – Nepal Press

कर्णालीमा राहत सहयोग गर्न प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग

सुर्खेत । बाढीपहिरोबाट भएको क्षतिबारे अवलोकनको क्रममा सुर्खेत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राहतका लागि सहयोग मागेका छन् ।

उनले विपद्बाट खर्बौं जनधनको क्षति भएकोले संघीय सरकारसँग सहयोगका लागि आग्रह गरेका हुन् । ‘आठजनाको निधन भएको छ । धेरै घाइते बनेका छन । सयौं चौपाया बेपत्ता छन । हजारौं कृषकको खेतमा लगाइएको धानबाली नष्ट भएको छ’, मुख्यमन्त्री शाहीले देउवासँग भने, ‘विकासका पूर्वाधार पनि क्षतविक्षत भयो । हामीसँगको रकमले समस्या समाधान गर्न सकिँदैन यसमा केन्द्र सरकारको साथ चाहियो ।’

मुख्यमन्त्री शाहीले क्षतिको आधारमा स्थानीय तहलाई रकम पठाए पनि हुने माग गरेका छन् । प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले सहयोगको आश्वासन दिएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

बाढीपहिरोबाट बालीनाली क्षतिको अवस्था हेरेर प्रतिरोपनी तीनदेखि चार हजार क्षतिपूर्ति दिने प्रदेश सरकारको तयारी छ । भोलि प्रदेश विपद् केन्द्रको बैठक बसेर क्षति आँकलनसँगै राहत तथा क्षतिपूर्तिको आवश्यक निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर