जुम्लामा बाढीको विध्वंसः मार्सी धानका खेत बने बगर, १० हजार परिवार अन्धकारमा


सुर्खेत । निरन्तर परेको अविरल वर्षाका कारण मार्सी धानको राजधानी मानिने जुम्लामा ठूलो क्षति भएको छ । जुम्ला जिल्लामा रहेको तिला नदीमा आएको बाढीले नदी छेउछाउमा रोपिएका मार्सी धानको खेतलाई बगर बनाइदिएको तिला गाउँपालिका ४ का कृषक यज्ञप्रसाद उपाध्यायले नेपालप्रेसलाई बताए ।
‘अहिलेसम्म यति ठूलो क्षति भएको मलाई जानकारी नै थिएन । तिला नदिमा आएको बाढीले १५ सयभन्दा धेरै मुरी धान नष्ट भएको छ । खेतहरु बगर भएका छन् । वर्षायाम सकिनै लाग्दा आएको यस्तो वाढीले रुनु न हाँस्नु बनाइदिएको छ,’ उनले भने ।
सोही पालिकाकी रंगा सार्कीको घरसमेत भत्केको छ । उनले लगाएको मार्सी धान सबै बगाएको छ । उनको खेत पनि बगरमा नै परिणत भइसकेको छ ।
‘कात्तिकमा आएको पानीले उठिबास नै लगायो । घर नै भत्कायो । बारी बगायो,’ उनले भनिन्, ‘अब के खाने, कहाँ बस्ने समस्या हुने भयो ।’
तिला नदीमा आएको बाढीले तिला गाउँमा रहेका तीनवटा लघुजलविद्युत आयोजना पनि बगाएको छ । लघुजलविद्युत आयोजना बगाएका कारण आठदेखि दश हजार घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
‘तिला नदी तर्नका लागि देवदारको काठबाट बनाइएका ६० वर्ष पुराना साँघु बगेका छन् । दुई स्थानमा बन्न लागेका झोलुङ्गे पुलको सामान बगेको छ । ६ ओटा काठे मिल बगाएको छ । तिला गाउँपालिकाको वडा नं. ४, तातापानी गाउँपालिकाको वडा नं. ७ र आठमा ठूलो धनको क्षति भएको छ,’ अहिले फिल्डमै रहेका पत्रकार सुरोजंग सिंहले नेपालप्रेससँग भने, ‘सापुली, माउखोला, नुवाकोट, शार्म, सुर्की, कैयनकोट, वन्तडी, डुंग्री, थलाले, तोक्ला, मसाली गाउँका बासिन्दा बाढीको वितण्डाबाट पीडित बनेका छन् । अर्बौंको धनमाल क्षति भएको छ ।’
बाढीले कम्तिमा ७ वटाभन्दा बढी स्याउका बगैंचा पुरेको छ भने सेतिवाडा मावि तिला ४ डुवानमा परेको छ ।
यता, बाढीका कारण कर्णाली नदी अन्तर्गत खुलालुमा राखिएको फेरी बगेको छ । फेरी बग्दा हुम्ला कर्णाली जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीले कुइने नदिमा बनिरहेको भेरी कर्णाली पुलको सामान पनि बगाएको प्रहरीले जनाएको छ ।