विप्लवले दाई वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली (भिडिओ) – Nepal Press

विप्लवले दाई वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली (भिडिओ)

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना जेठा दाई तथा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द वीरजंगलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

विप्लवसँगै बीरजंगलाई श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी केन्द्रका केन्द्रीय नेता चक्रपाणी खनाल, बसन्त घर्तीमगर, एमाले नेता तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलगायत पुगेका थिए ।

कपिलवस्तु शिवगढीस्थित घरमा पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीययले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली दिन पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठूलो क्षति भएको बताए ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका वीरजंगको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रवार मृत्यु भएको थियो ।उनको शवलाई शनिबार गृहजिल्ला कपिलवस्तुको शिवगढी ल्याई श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका वीरजंग विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका उनी कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । ६१ वर्षीय वीरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

यस्तो छ वीरजंग इतिहास

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

१० वर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रविरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

विप्लवले वैद्यसँग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेलजीवन व्यतित गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो ।

दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको हो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर