राजदेवी मन्दिरमा एकै रात १४ हजार बोकाको बली – Nepal Press

राजदेवी मन्दिरमा एकै रात १४ हजार बोकाको बली

जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दशैंको महाअष्टमीको रात १४ हजार २४२ बोकाको बलि चढाइएको छ । राति ८ः०५ बजेबाट सुरु भएको बलि दिने काम आज बिहान ३ः३८ बजेसम्म चलेको थियो ।

यस मन्दिरमा हरेक वर्षको दशैंमा ठूलो संख्यामा बोका बली चढाउने गरिन्छ । विभिन्न स्थानबाट मानिसहरुले आ–आफ्ना बोकाहरु ल्याएर मन्दिरमा चढाउँछन् ।

छिमेकी जिल्लाहरु सिरहा, महोत्तरी र भारतबाट समेत यहाँ बोका लिएर श्रद्धालुहरु आउने गरेका छन् । आफूले गरेको भाकल पुरा भएपछि यहाँ ल्याएर बोकाको बलि दिने प्रचलन छ ।

बलि चढाउन ४ वटा ठेहा राखिएका थिए । प्रत्येक ठेहामा १० जनाका दरले ४० जना जनशक्ति परिचालित थिए । प्रतिमिनेट ४० भन्दा बढी बोकाको बलि चढेको बताइएको छ ।

अघिल्लो दसैंमा बलि केही कम भएको थियो । कोरोना प्रभावित गत वर्षको दसैंमा ८ हजार ९६८ वटा बोका बलि चढेका थिए । यसवर्ष त्योभन्दा ५ हजार २ सय बढी बोकाको संहार भएको हो ।

महावीर युवा कमिटीले बलि दिने कार्यक्रमको व्यवस्थापन गरेको थियो । गतवर्ष धेरैले बलि चढाउन नसकेकाले यसवर्ष संख्या बढेको ठेहा संयोजक छोटु साहले बताए ।

बलिप्रथाबारे नेपालमा बारम्बार बहस हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर