आयुष घलानः सामाखुशी फुटसलदेखि राष्ट्रिय टोलीसम्म – Nepal Press

आयुष घलानः सामाखुशी फुटसलदेखि राष्ट्रिय टोलीसम्म

नेपाली फुटबलका एक आशालाग्दा प्रतिभा

काठमाडौं । सामाखुशीस्थित एक फुटसलमा १७ वर्षे ‘स्किलफूल’ ठिटोमा प्रशिक्षक राजेश शाहीको नजर पर्‍याे । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका लागि खुमलटारको तयारी गराइरहेका प्रशिक्षक शाही उनको ‘म्याजिकल फुटवर्क’ बाट प्रभावित बने । एकपटक नजिकबाट चिन्ने प्रयास गरे । अनि, आफ्नो विपक्षी टोलीमा राखेर एउटा फुटबल म्याच खेले ।

त्यही खेलमा प्रशिक्षक शाहीले लिएको अन्जान परीक्षाको परिणामले हो, युवा मिडफिल्डर आयुष घलानलाई राष्ट्रिय टोलीसम्म डोर्‍याएको । तीनै आयुष घलान, जसले सोमबार मात्रै माल्दिभ्समा जारी साफ च्याम्पियनसीपमा श्रीलंकाविरुद्ध शानदार प्रदर्शन गरे ।

०००

पहिलो खेलमा साविक विजेतासमेत रहेको माल्दिभ्सविरुद्ध १-० को जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलले हराउँदै विजय यात्रालाई निरन्तरता दियो । सो खेलमा ४५ मिनेट मात्र खेलेका आयूषले एक गोल र एक असिस्टसँगै अन्य धेरै मौका सृजना गरेका थिए । विशाल राईको स्थानमा दोस्रो हाफको सुरुआतमै प्रशिक्षक अब्दुल्लाहले आयुषलाई मैदानमा उतारेका थिए । अन्ततः उनी नेपालका गेम चेन्जर सावित भए ।

‘खेलको म्यान अफ दी म्याच’ आयुष घलान हुनुपर्थ्याे,’ अञ्जन विष्ट घोषित भएपछि म्याच कमेन्टेटर भन्दै थिए । आयुषले ४५ मिनेटसम्म माल्दिभ्स नेसनल स्टेडियममा गरेको प्रदर्शन साँच्चै लोभलाग्दो थियो ।

०००

‘त्यो खेलमा मैले आयुषलाई विपक्षी टोलीमा राखेर खेलेँ,’ आयुषलाई पहिलोपटक तौलिएका प्रशिक्षक शाही भन्छन्, ‘त्यतिखेर नै मलाई लाग्यो, यो केटाले मौका पायो भने केही गर्छ, अवश्य गर्छ ।’

खुमलटारका तत्कालीन प्रशिक्षक शाहीले त्यसपछि उनलाई बी डिभिजन खेलाउने निधो गरे ।

‘आयुषमा क्षमता असाधारण थियो,’ शाही भन्छन्, ‘उसको स्किल र स्टाइलमा जादु थियो । यस्तो लाग्थ्यो- हि इज बर्न टू प्ले ।’

त्यसै क्षण आयुषले एकदिन राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्ने भविष्य देखिसकेका थिए शाहीले । उनले आयुषलाई बी डिभिजन लिगमा खुमलटारबाट खेलाए ।

असाथ्यै मेहेनती आयुषले ‘बी’ डिभिजन लिगका लागि कम्ति मेहनत गरेका थिएनन् ।

‘लैनचौरको मैदानमा एक्लै अभ्यास गरिरहेको मैले कतिपटक देखेको थिएँ,’ राजेश भन्छन्, ‘बी डिभिजन लिगको कुरा भएपछि मैले उसलाई फुटसलमा अभ्यास गर्ने सल्लाह दिएँ । र, उसले आफ्नो मिहिनेतमा कुनै कसर बाँकी राखेन ।’

बी डिभिजन लिग सुरु भएदेखि अगाडि बढ्दै जाँदा आयुषले पनि प्रदर्शन सुधार्दै लगे । ‘बी’ डिभिजनमा खुमलटार दोस्रो हुँदा आयुषले ६ पेनाल्टी जित्दै ९ असिस्ट गरेका थिए । ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोलाई ‘नेक-टू-नेक’ प्रतिस्पर्धा गरेको खुमलटारका लागि आयुष एक आधार स्तम्भ बने । उनको प्रदर्शनले प्रशिक्षक शाहीलाई आफ्नो निर्णयप्रति अझै पनि गौरवान्वित बनाउँछ ।

०००

बी डिभिजनमा अब्बल प्रदर्शन गरेका आयुषले नेपालमै पहिलोपटक भएको फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मा पनि मौका पाए । पोखरा थन्डर्सको सहायक प्रशिक्षक नियुक्त भएका प्रशिक्षक शाहीले नै आयुषलाई सिफारिस गरेका थिए ।

‘पोखराको सहायक प्रशिक्षकमा राजेश (शाही) हुनुथ्यो, उहाँले आयुषको गेम एकपटक हेरौं भन्नुभयो र म हेर्न गएको थिएँ,’ पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भने, ‘उसको खेल हेरपछि मलाई पनि मौका दिनुपर्छ जस्तो लाग्यो र हामीले सल्लाह गरेर टोलीमा राख्यौं ।’

प्रशिक्षक शाहीको विश्वास र न्यौपानेको भरोसा पाएका आयूषले नेपालमा छुट्टै तरङ्ग पैदा गरेको एनएसएलमा उत्कृष्टता देखाए । पोखरा प्लेअफमा स्थान बनाउन असफल रह्यो । तर, आयुषले भने धेरै फुटबल समर्थकसँगै मुख्य प्रशिक्षकको नजरमा आफूलाई स्थापित गरे ।

‘कलिलै भएकाले सुरुआती खेलमा सुरुआती लाइन अपमा राखेनौं,’ प्रशिक्षक शाही भन्छन्, ‘तर, जब उसले मौका पायो, आफूलाई प्रतियोगितामा तयार छु भन्ने देखायो । त्यसपछि उसले फर्केर हेरेन, न त हामीले फेरि त्यसबारे सोच्नु पर्‍याे ।’

०००

सुपर लिगको समाप्तिसँगै मुख्य प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणमा बोलाएको ५० सदस्यीय टोलीमार्फत राष्ट्रिय टोलीतर्फ लम्किएका आयुषले अन्ततः मिडल-इस्ट भ्रमणका लागि टोलीमा स्थान बनाए ।

मैत्रीपूर्ण खेलका लागि नेपाल इराक गएको थियो । इराकविरुद्धको मैत्रीपूर्ण खेलपछि विश्वकप तथा एसियन कप छनोटका लागि नेपाल उतैबाट कुवेत पुगेको थियो । र, त्यो टोलीमा सबैभन्दा कान्छा खेलाडी थिए, आयुष ।

उनले अस्ट्रेलियाविरुद्धको खेलबबाट राष्ट्रिय टोलीमा डेब्यू गरे । उत्कृष्ट बल कन्ट्रोल र कलात्मक शैलीलाई आफ्नो पहिचान बनाएका आयुषले भारतविरुद्धका दुवै मैत्रीपूर्ण खेलमा सुरुआती-११ मा स्थान बनाएका थिए । दशरथ रंगशालामा नेपाली समर्थकसामू आयुषको प्रदर्शन प्रशंसनीय थियो ।

साफ च्याम्पियनसिपको फाइनल स्क्वाडमा समेटिएसँगै बन्द प्रशिक्षणका लागि कतार पुगेका आयुषले ओमानविरुद्धको अभ्यास खेलमा एक गोल गरेका थिए । त्यसपछि साफ च्याम्पियनसिपका लागि माल्दिभ्स पुगेका आयुषले पहिलो खेल बेन्चमै बसेर हेरे ।

तर, दोस्रो खेलमा विशाल राईलाई प्रतिस्थापन गर्दै ४६औं मिनेटमा मैदान प्रवेश गरेका आयुषले उत्कृष्ट खेले । असिस्ट र गोलसँगै नेपाली फुटबल समर्थकमाझ आफूलाई चिनाएका छन् । सानो कदका यी किशोर खेलाडीबाट नेपालले भविष्यमा ठूलो अपेक्षा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर