कोरोनाको प्रभाव घटेको परिसंघको ठहर, ६४ प्रतिशत उद्योग सञ्चालनमा – Nepal Press

कोरोनाको प्रभाव घटेको परिसंघको ठहर, ६४ प्रतिशत उद्योग सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग परिसंघले पहिलो ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर परिसंघले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक गरे ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । उक्त अवधिमा उद्योगहरूले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार अघिल्लो आ.व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा २०७७/७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर बढेर ८ पुगेको छ । अघिल्लो वर्ष यो ४.७ प्रतिशतले ऋणात्मक थियो । व्यवसायको क्षमता उपयोगमा कोभिड १९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको प्रतिवेदनले देखाएको छ ।

अध्ययन अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रकाले ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले ८.४ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगले आफ्नो चालु पुँजीको ६६.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।

अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गर्ने बताए ।

उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रतिवेदनले परिसंघको तर्फबाट सुझावमात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत प्रस्तुत गर्न खोजेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर