पत्रकारहरुको बक्यौता दसैंअघि नै भुक्तानी गर्न संचारगृहलाई महासंघको आग्रह – Nepal Press

पत्रकारहरुको बक्यौता दसैंअघि नै भुक्तानी गर्न संचारगृहलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले असोज १७ गतेपछि संघर्षका थप कार्यक्रम अघि बढाइने निर्णय गरेको छ । पीडित पत्रकारले अघि बढाएका मागको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाई हुन नसकेकोमा दुख व्यक्त गर्दै महासंघले समयमै ती समस्याको सुनुवाई नभए महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने महासंघले बिहीबार एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

कोरोना संक्रमणको बहाना बनाई विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदै आएको महासंघले जनाएको छ ।

यति गर्दा समेत त्यसलाई बेवास्ता गर्दै महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह समस्या समाधानप्रति गम्भीर नबन्दा ती सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘नेपालीको महान पर्व दशैंसम्मुख आइपुग्दासम्म श्रमजीवी पत्रकार एकातिर कोरोनाको कहर र अर्कोतिर तलवविहीन बन्नु पर्दाको पीडाले आक्रान्त छन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन । सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ । महासंघ आउँदो दशैं अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग महासंघ आग्रह गर्दछ ‘, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखामार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको हो ।

महासंघले सबै शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन पनि आग्रह गरेको छ ।

विभिन्न सञ्चार गृहका पीडित पत्रकारले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रतिले महासंघले समर्थन र ऐक्यवद्धता जनाउदैँ श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *