चितवनमा पौडेल पक्ष बलियो, महानगरसहित ५ स्थानीय तहमा विजय – Nepal Press

चितवनमा पौडेल पक्ष बलियो, महानगरसहित ५ स्थानीय तहमा विजय

भरतपुर महानगरमा शशांकपक्षीय उम्मेदवार विजयी

चितवन । कांग्रेसको स्थानीय तहको नेतृत्वमा चितवनमा संस्थापन पक्षभन्दा संस्थापनइतरसमूह बलियो देखिएको छ । वडाअधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिमा पनि संस्थापनइतर समूह बलियो छ ।

७ स्थानीय तहमध्ये संस्थापनइतर समूहका ५ जना र २ जना संस्थापन पक्षका नेताले पार्टीको पालिकास्तरको नेतृत्वमा पुगेका छन् । संस्थापनइतर समूहमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल समूहभन्दा महामन्त्री शशांक कोइराला समूह हाबी छ । भरतपुर, इच्छाकामना र खैरहनीमा शशांक पक्षधर नेतृत्व छ (यद्यपि इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले आफू कुनै समूहमा नरहेको सामाजिक सन्जालमा लेखेका छन्) । माडीमा पौडेल पक्षधरको नेतृत्व छ ।

कालिकामा अर्जुननरसिंह केसी पक्षधर नेतृत्वमा छन् । रत्ननगर र राप्तीमा संस्थापन पक्षधर नेताले नेतृत्व पाएका छन् । केन्द्रमा संस्थापन इतरबाट साझा उम्मेदवारी बनाउने चर्चा भए पनि प्रगती नभएपछि त्यसको असर जिल्ला तहसम्म आइपुगेको छ ।

भरतपुर महानगरमा शशांक पक्षधर नेता चित्रसेन अधिकारीले नेतृत्व पाएका छन् । उनी भरतपुर–२१ का वडाध्यक्ष हुन् । महानगरको दलीय नेता पनि हुन् । १ सय ३ मतान्तरले विजयी बने । उनले ६ सय ४९ मत ल्याएर विजयी बने । सभापतिका प्रतिस्पर्धी भरत अधिकारीले ५ सय ४६, हिरामणि अधिकारीले १ सय २९, वचन कार्कीले ७५ मत ल्याए ।

उपसभापतिमा बुद्धिकान्त न्यौपाने (६६१), विजय घले (५५६), सचिवमा प्रनिशा गुरुङ (५६४), कृष्ण बगाले (४५६), सहसचिवमा उपेन्द्र पण्डित (५१३), कल्पना खड्का पौडेल (४२०) मत सहित विजयी बने । ५ जना नगरसभापतिमा उम्मेदवार रहेकोमा २ जना देउवा समूहका थिए भने ३ जना संस्थापन इतरसमूहका थिए । महानगरमा प्यानलगत उम्मेदवारी थिएन । तर, नेतृत्वमा संस्थापनइतर समूहकै हाबी छ । चितवनको सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र भएकाले केन्द्रका शीर्ष नेतृत्व मौन बसेर उम्मेदवारी दिन लगाएका थिए ।

इच्छाकामना, माडीमा पुरानै सभापति पुनः निर्वाचित भए । रत्ननगरमा संस्थापन पक्षधर प्रल्हाद सापकोटाले नगरसभापतिको नेतृत्व पाएका छन् । संस्थापन पक्षबाट पदाधिकारीमा एक जना सचिव र एक जना सहसचिवले जितेका छन् । अन्य पदाधिकारीमा पौडेल समूहकै नेताहरु विजयी बने । सापकोटाले ७८ मतान्तरले प्रत्यासी रुपनराज घिमिरेलाई पराजित गरे ।

सापकोटाले २४६ मत ल्याए । उपसभापतिमा घिमिरे प्यानलबाट कमलनाथ अधिकारी (२००), अपिल अघिकारी (२४८), सचिवमा अनिता अर्याल (२५९), सहसचिवमा रामचन्द्र पौडेल (२०५) मतले विजयी बने । सापकोटा प्यानलबाट सहसचिवमा अमृत मल्ल (१९४) मत सहित विजयी बने । ।

राप्ती नगरसभापतिमा निर्वाचित देवेन्द्र लामा गगन थापासँग निकट मानिन्छन् । तर, उनी आजकल संस्थापन पक्षधर बनेका छन् । राप्तीमा उनको प्यानलनै विजयी बनेको छ । उनी ४० मतान्तरले विजयी भएका हुन् । खैरहनी नगरसभापति गुणराज श्रेष्ठ पनि कोइराला निकट मानिन्छन् । श्रेष्ठ उवासंघ बागमती प्रदेशका कोषाध्यक्ष पनि हुन् । उनी ३ मतान्तरले विजयी भएका हुन् ।

कालिका नगरसभापति दिपेश्वर केसी अर्जुनरसिंह केसी निकट नेता हुन् । कालिकामा दुई समूहमा प्रतिस्पर्धा भएको थियो । केसीले प्रत्यासीलाई १० मतान्तरले हराएका थिए ।

पूर्वीचितवनका ४ नगरपालिकामा समूहगत प्रतिस्पर्धा भएपनि भरतपुर, माडी र इच्छाकामनामा समूहगत प्यानल थिएनन् । माडी नगरसभापति कोमलनाथ भुसाल बरिष्ठ नेता पौडेल पक्षधर नेता हुन् । उनी ३ मतान्तरले विजयी भएका हुन् । माडीमा समूहगत प्यानल थिएनन् । यहाँ पौडेल पक्षधरकै अर्का नेता नगरसभापति पदका लागि मैदानमा थिए । इच्छाकामना गाउँसभापति कृतिकुमार श्रेष्ठ पनि कोइराला पक्षधर नेता मानिन्छन् । उनी ४ मतान्तरले विजयी बनेका हुन् ।

यो गाउँपालिकामा उपसभापतिमा ७, सचिवमा ६ जना उम्मेदवार थिए । यहाँपनि समूहगत प्यानल थिएनन् । पूर्वीचितवनका ४ स्थानीय तहबाहेकका अन्य ३ स्थानीय तहमा मिक्सअप प्यानल बनेका थिए । पौडेल समूह एक्लै चुनावी मैदानमा थियो भने देउवा–शशांक पक्षधरले धेरै पदमा तालमेल गरेका थिए ।

सिटौला समूह भने अझै जिल्लामा खुलेको छैन । वर्तमान जिल्ला पार्टी सभापति जीतनारायण श्रेष्ठ र पूर्वसभापति टेकप्रसाद गुरुङबीचको प्रतिस्पर्धाका रुपमा धेरैले चितवनको चुनावलाई लिएका छन् । संस्थापन पक्षधर नेताहरुले केही ठाउँमा पौडेल समूहमा नअटाएकालाई नेतृत्वमा लैजान सघाएका थिए । जिल्ला अधिवेशनमा चलखेल बढ्न सक्ने देखेरै निर्वाचित नगर कार्यसमितिका नेतृत्वले गुट बताउन चाहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर