रूपा सुनारमाथि विभेद गर्ने घरबेटीलाई सवा १ लाख धरौटी तिर्न अदालतको आदेश – Nepal Press

रूपा सुनारमाथि विभेद गर्ने घरबेटीलाई सवा १ लाख धरौटी तिर्न अदालतको आदेश

काठमाडौं । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले केही दिनअघि नै मुद्दा दायर गरे पनि बुधबार मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए । गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिईन् ।

घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरे पनि सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएपछि प्रधान थुनामुक्त भएकी थिईन ।

प्रधान हिरासतबाट छुट्दा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत सिंहदरबार पुगेका थिए । त्यहाँ पुगेर श्रेष्ठले प्रधानलाई सरकारी झण्डावाला गाडीमा बोकेर घर पुर्याएका थिए ।

मन्त्रीको झण्डावाल गाडी नै लिएर हिरासतमा रहेका व्यक्तिलाई छुटाउन गएको भन्दै सुनारले श्रेष्ठ विरूद्ध पनि मुद्दा दायर गरेकी थिइन् । प्रधानले आफूमाथि झूटो मुद्दा हालेर मानहानी गरेको भन्दै रूपाविरूद्ध जाहेरी दिएकी थिइन्। सरकारी वकिल कार्यालयले भने ती दुबै मुद्दालाई तामेलीमा पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर