बालुवाटार प्रकरणमा गच्छदारको स्पष्टीकरण- तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन मानेको हुँ(भिडिओ) – Nepal Press

बालुवाटार प्रकरणमा गच्छदारको स्पष्टीकरण- तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन मानेको हुँ(भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको दावी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।

गच्छदारले भने, ‘प्रम निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ । मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ ।’

सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उनले बताए ।

अख्तियारको असन्तुलित भूमिकाले संविधानको मर्म नै क्षतविक्षत भएको गच्छदारको गुनासो छ । गच्छदारले थपे, ‘लोकतन्त्रवादी नागरिकका रूपमा स्वतन्त्र न्यायालयप्रतिको मेरो विश्वास टुटेको छैन । मैले न्याय पाउँछु भन्ने लाग्छ । जो सुकै भ्रष्टाचारी भए जो सुकैलाई कारवाही गर्नुपर्छ तर अनुसन्धान र तहकिकात निष्पक्ष र विश्वासिलो हुनुपर्छ ।’


प्रतिक्रिया

One thought on “बालुवाटार प्रकरणमा गच्छदारको स्पष्टीकरण- तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन मानेको हुँ(भिडिओ)

  1. ललिता निवास प्रकरणमा —————-“”तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार आफूले मन्त्रिपरिपदमा प्रस्ताव पेश गरेको र सर्वसम्मत निर्णय भएको दावी गरेका छन् ।”” !!! ललिता निवास प्रकरणमा गच्छ्य्दार र अरु कर्मचारी र ब्यापारी हरु संग संगै माकुने र बाबुरामे जी लाइ कडा कारबाही हुने पर्छ !! साना माछाहरुलाई मात्र समात्ने तर ठुला नाइकेहरुलाई नीतिगत निर्णयको नाममा पुर्व प्रधानमन्त्री भएकोले छुट दिन मिल्दै मिल्दैन !!! अदालतले पनि माकुने र बाबुरामे जी बिरुद्द परेको मुद्दा रोकेर राख्न मिल्दैन !!! जो सुकै भएपनि भ्रस्ताचारिलाई कडा भन्दा कडा कारबाही गर चाहे पुर्व प्रधानमन्त्री हुन् या अहिलेका मन्त्रि अनि साम्साद वा नेता , ब्यापारी वा कर्मचारी !!!!!!!!! माकुने र बाबुरामे जी ले मुद्दा फैसला नहुदा सम्म राजनीति बाट सन्यास लिन पर्छ !!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर