मन्त्रीहरूको नाम टुंगो लगाउन माओवादीको स्थायी समिति बैठक बस्दै – Nepal Press

मन्त्रीहरूको नाम टुंगो लगाउन माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । दिउँसो तीन बजे तय गरिएको बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउने र सांगठानिक संरचनाबारे निर्णय हुने बताइएको छ ।

आज नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने भएकाले आजै मन्त्रिपरिषद्‍मा पठाउनेहरूको नामबारे बैठकमा निर्णय हुने एक स्थायी समिति सदस्यले जानकारी दिए ।

उनका अनुसार सरकार विस्तारमा ढिला हुँदा सरकारमाथि आलोचन बढ्न थालेको भन्दै हिजोको गठबन्धन बैठकमा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन नभए माओवादीबाट मात्रै भए पनि मन्त्री बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका थिए ।

प्रचण्डले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।

माओवादीबाट मात्रै भए पनि मन्त्रीहरु सहभागी गराउन प्रचण्डले दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षसँग मन्त्रीको नाम मागेर आजै मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको स्रोत बताउँछ । आज नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *