नेकपा एस पक्षधर कर्मचारीले सत्ताको आडमा मुठभेड गर्न खोजेको अध्यक्ष देवकोटाको आरोप – Nepal Press

नेकपा एस पक्षधर कर्मचारीले सत्ताको आडमा मुठभेड गर्न खोजेको अध्यक्ष देवकोटाको आरोप

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले सत्ताको आडमा कार्यालय कब्जा गर्न खोजिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । संगठनका अध्यक्ष केदार देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै सत्ताको आडमा अर्को पक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

एमाले विभाजनसँगै निजामति कर्मचारी संगठन पनि विभाजित भएको छ । नेकपा एस पक्षधर कर्मचारीले अध्यक्ष देवकोटालाई पदबाट हटाएको घोषणा गर्दै महासचिव रेवन्त गौतमलाई अध्यक्ष घोषित गरेका छन् ।

सिंहदरबार गेटअगाडि बबरमहलमा रहेको संगठनको कार्यालयमा सोमबार साँझ एस पक्षधर कर्मचारी नेताहरू पुगेर कार्यालय आफूहरूले चलाउन पाउनुपर्ने भनेपछि विवाद भएको थियो ।

नाराबाजी र तोडफोड हुन थालेपछि प्रहरीले पूर्वअध्यक्ष मोहन घिमिरे, रेवन्त गौतमलगायतका नेताहरूलाई पक्राउ गरेको थियो । त्यसलगत्तै संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाललगायतलाई पनि प्रहरीले पक्राउ गरी कार्यालय खाली गराएको थियो ।

दुवै पक्षले संगठनको आधिकारिकता दावी गरेका छन् । संस्थापन पक्षले संगठनको लेटरप्याड, लोगो र माइन्युट चोरी गरी किर्ते दस्तखतबाट आधिकारिक ट्रेड युनियनको केन्द्रमा प्रतिनिधित्व गराएको तथा बैठक बसेको भनी भ्रम फैलाएको आरोप लगाएको छ ।

संगठनले देवकोटालाई आधिकारिक ट्रेड युनिनको अध्यक्षमा सिफारिस गर्दै ११ जनाको नाम पठाएको छ । अर्को पक्षले पनि मोहन घिमिरेलाई अध्यक्षमा सिफारिस गरेको छ ।

संगठनका अध्यक्ष देवकोटाले कार्यालयको ताला तुरुन्त खोली कार्य सन्चालन गर्ने वातावरण बनउान सरकारसमक्ष माग गरेका छन् । तर, पूर्वअध्यक्ष घिमिरेले भने कार्यालयमा आफूहरूको हक लाग्ने भन्दै एमाले निकट कर्मचारीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर