विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित, तर बजेट खर्च गर्न अझै केही दिन पर्खिनुपर्ने – Nepal Press

विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित, तर बजेट खर्च गर्न अझै केही दिन पर्खिनुपर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक प्रतिनिधिसभाको बैठकबाट आज पारित भएको छ । एमालेको अवरोधका बीच विधेयक पारित भए पनि बजेट खर्च गर्ने बाटो भने अझै खुलिसकेको छैन ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमाथि गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सो विधेयक प्रस्तुत भएको ७२ घण्टासम्म संसदबाट पारित गर्न नमिल्ने भएकाले संसद बैठंक ४ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

भदौ ३० गतेसम्ममा सरकारले प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था सृजना भयो र सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । आज प्रतिनिधिसभाले प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच विनियोजन विधेयक पारित गरेको भए पनि सरकारले तत्काल बजेट खर्च गर्न पाउनेछैन ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्रको ऋण उठाउने अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक संसदमा प्रस्तुत गरेका थिए । आज प्रतिनिधिसभाले विनियोजन विधेयक पास गरेपनि आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक माथिको दफावार छलफलका लागि असोज ७ गतेको म्याद तोकिएको छ ।

राष्ट्रियसभामा म्याद लिनका लागि आज विनियोजन विधेयकमात्रै प्रतिनिधिसभाबाट पारित भएको छ । विनियोजन विधेयकको आश्रित बिधेयककरुपमा आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक पनि सँगै पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित भएर आयपश्चात प्रतिनिधसभाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछी मात्रै बजेट पास भएको मानिन्छ र त्यसपछि बल्ल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न सक्छ । यस प्रक्रियाका लागि अझै केही दिन पर्खिनुपर्ने भएको छ ।

बजेट प्रमाणीकरण भएपछि मात्रै सरकारले खर्च गर्न पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

‘प्रतिनिधिसभाले विनियोजन विधेयक पास गर्‍यो, अब राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रियसभाले पास गरेपछि प्रतिनिसभामा फिर्ता पठाएर राष्ट्रपतिबाट प्रमाणीकरण गरी राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै सरकारले खर्च गर्न पाउँछ’, पाण्डले भने ।

आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक विनियोजन विधेयकसँग जोडिएका आश्रित विधेयक भएकाले विनियोजन विधेयक पनि सँगै पारित हुने पाण्डेले बताए । राष्ट्रियसभाबाट म्याद जारी हुनुपर्ने भएकाले आज विनियोजन विधेयकमात्रै प्रतिनिधसभामा प्रस्तुत गरिएको उनको भनाइ छ ।

विनियोजन ऐन प्रमाणिकरण नहुँदासम्म खर्च नगर्न नमिल्ने महालेखा नियन्त्रक सुमनराज अर्यालले बताए ।

‘विनियोजन ऐन राष्ट्रपतिज्यूबाट प्रमाणिकरण नभइकन खर्च हुन सक्दैन । अहिले पनि बजेट निकासा र खर्च दुवै रोकिएको अवस्था छ’,अर्यालले भने । यद्यपि संघीय सञ्चिति कोषमाथि सिधै व्ययभार पर्ने र कानून आवश्यक नपर्ने खालका प्रकृतिका खर्च भइरहेको उनले जानकारी दिए ।

राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुखलगायतका पारिश्रमिकलगायतका अन्य संविधानले सिधै खर्च गर्न अधिकार दिएका बाहेक विनियोजन ऐनमार्फत व्यवस्थापन हुने खर्च रोकिएको अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *