एमालेको अवरोधकाबीच विनियोजन विधयेक पारित – Nepal Press

एमालेको अवरोधकाबीच विनियोजन विधयेक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक २०७८ पारित भएको छ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोध र नारावाजीबीच सभामुख अग्नि सापकोटाले बहुमतबाट उक्त विधेयक पारित भएको घोषणा गरे ।

एमाले नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट पेस गरेको थियो ।

आज बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित नहुँदा सरकारले ‘बजेट होलिडे’ को समेत सामना गर्नुपर्‍यो ।

विधेयकमाथिको छलफलका क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए । सो प्रस्ताव अस्वीकार भएपछि अर्थमन्त्री शर्माले विनियोजन विधयेक निर्णयार्थ प्रस्तुत गरेका हुन् । सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमालेका कुनै पनि सांसदले विधयेकमाथिको छलफलमा बोलेनन् । उनीहरू वेलमा उभिएर नारावाजी गरिरहे ।

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका थिए । विनियोजन विधेयक पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्ताव गरेका थिए । सभामुखले विधेयकको दफा २ देखि ११ र सोसँग सम्वन्धित अनुसूची १ र २ पारित गरिएको छ । विनियोजन विधेयक पारितसँगै सरकारलाई बजेट खर्चको बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर