सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार: एमाले नेता भट्ट – Nepal Press

सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार: एमाले नेता भट्ट

कैलाली । नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले सुक्खा बन्दरगाह र गेटा मेडिकल कलेज समृद्ध सुदूरपश्चिमको आधार रहेको बताएका छन् ।

बुधबार कैलाली उद्योग वाणिज्य सङ्घमा आयोजित सर्वपक्षीय छलफलमा नेता भट्टले विकासक्रममा पछि पारिएको सुदूरपश्चिम प्रदेशको समृद्धिमा यी दुई परियोजनाले निकै ठूलो भूमिका हुने बताए ।

‘राज्यले धेरै सुदूरपश्चिमलाई टाढाकै रूपमा सोचिरहेको थियो । हामीले ठूलो प्रयास पछि दुई सुक्खा बन्दरगाह र मेडिकल कलेज पाएका छौँ,’ उनले भने ‘यदि समयमै दुबै परियोजना सम्पन्न भए प्रदेश मात्रै होइन मुलुक नै समृद्धिको बाटोमा हिँड्छ ।’

अहिलेसम्म सुख्खा बन्दरगाहको गुरु योजना र सम्भाव्यता अध्ययन सम्पन्न भएर वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ ।

सुक्खा बन्दरगाह दुई चरणमा निर्माण गरिने जनाइएको छ । पहिलो चरणमा रेलबाहेक सात अर्ब र रेलसहित १३ अरब रकम लाग्ने प्रारम्भिक अनुमान छ ।

निर्माण कार्य सुरु भएको दुई वर्षमा भौतिक संरचना पूरा हुने गरि काम भइरहेको भट्टले बताए । अहिले भारत लगायत तेस्रो मुलुकबाट वीरगञ्ज, विराटनगर र भैरहवा हुँदै आयात तथा निर्यात भइरहेको छ ।

भारतको राजधानी दिल्ली र समुन्द्री तट गुजरातको मुन्द्रा पोट पनि नजिकै भएको हुँदा सुक्खा बन्दरगाहको निर्माण पनि प्रदेशलाई मात्र नभई देशलाई नै टेवा पुग्ने उनले बताए ।

विकास निमार्णको विषयमा सुदूरपश्चिमका नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिएकोसमेत उनको भनाई छ ।

‘प्रधानमन्त्री, म, हाम्रै पार्टीका उपाध्यक्ष भीम रावल मात्रै होइन राप्रपाका लोकेन्द्र बहादुर चन्दको पनि यहाँको विकासको सवालमा एक मत छौँ,’ उनले भने ‘त्यसैले त पछिल्लो समयमा प्रदेशमा पनि विकासले गति लिइरको छ ।’

उनले मेडिकल कलेजको प्रसङ्ग ल्याउँदै अब प्रदेशमा चिकित्सक अभाव कहिल्यै नहुने दाबी गरे ।

‘अब बिरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य हुने छ ’ उनले भने, ‘हामी चाँडै यसलाई सञ्चालन गर्ने र प्रदेशवासीलाई सहज गर्नै भन्नेमा लागिरहेका छौँ ।’

सरकारमा हुँदा उनकै पहलमा निर्माण सुरु भएको मेडिकल कलेज सञ्चालनमा समेत भट्टले चासो देखाएका छन् । मंगलबार कञ्चनपुरमा सुक्खा बन्दरगाहका विषयमा र बुधबार धनगढीमा गेटा मेडिकल कलेजको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विकास गर्ने बिषयमा राजनीति मतभेद नराखेर अघि बढ्नु पर्ने बताएका थिए ।
उनीहरुले सुदूरपश्चिम प्रदेशका नागरिकहरू गुणस्तरीय उपचार नपाएर पिल्सिरहेको अवस्थामा मेडिकल कलेजको निर्माण पनि गुणस्तरीय स्वास्थ्य सँगै घरमै चिकित्सा शिक्षा पाउने बताएका थिए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले अब प्राविधिक काम अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘अब डिपिआर गर्ने ठेक्का लगाउने र निर्माण गर्ने काम छ ।’
सुक्खा बन्दरगाह २ सय ८० बिघा क्षेत्रफलमा फैलिने बताए ।
यही कात्तिक १६ गतेबाट तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित आएको प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहसँगै अन्तर देशीय व्यापारिक केन्द्रको प्राविधिक मूल्याङ्कन पनि सुरु गरेको छ ।

सुक्खा बन्दरगाहसँगै अन्तर देशीय व्यापारिक केन्द्र बनेपछि यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । बन्दरगाह बनेसँगै लगानीको सम्भावनासमेत बढ्ने अपेक्षा छ ।

सुदूरपश्चिममा भट्टको पहलमा सुक्खा बन्दरगाह र मेडिकल कलेजसँगै कञ्चनपुरको दैजिक्षेला औद्योगिक क्षेत्र, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्रको प्रक्रिया सुरु भइसकेको छ । यी योजनाहरू निर्माण पछि प्रदेशमा रोजगारीको अवसर सृजना हुने र सस्तोमा भारतमा जान बाध्य भएका नागरिकहरूले यहि रोजगारी पाउने आशा पनि पलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर