त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग भिड्दै नेपाल – Nepal Press

त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज नेपालले घरेलु टोली ओमानसँग पतिस्पर्धा गर्दैछ ।

पहिलोपल्ट डे–नाइट सिरिज खेलिरहेको नेपालले यसअघि हिजो अमेरिकामाथि ५ विकेटको शानदार जित हासिल गरेको थियो । घरेलु टोलीमाथि जितसँगै शृंखलामा जितयात्राको निरन्तरता दिने योजनामा रहेको नेपालका लागि ओमान टिम अमेरिकाभन्दा कठिन प्रतिद्वन्द्वी हो ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा हुने खेल अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।

अमेरिकामाथिको प्रभावशाली जितमा ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धशतकीय योगदानमा नेपालले एक ओभर बाँकी छँदै खेल ५ विकेटले जितेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टिममा अझै केहि कमजोरी रहेको र त्यसलाई सुधार गरी ओमानविरुद्ध उत्रने प्रतिवद्धता जनाएका छन् ।

मोनांक पटेलको शतकीय सहयोगमा २ सय ३१ रनको लक्ष्य पेश गरेको अमेरिकामाथि जित निकाल्न कुशलले ८४ रनको योगदान गरे । एकदिवशीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली ब्याट्सम्यानबन्न चुकेका कुशलले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

रोहित कुमार पौडेलले विनोद भण्डारीसँग पाँचौं विकेटका लागि गरेको ८३ रनको साझेदारीले जितको मुख्य आधारस्तम्भ हो । संहालिएर व्यटिङ गरेका रोहितले अविजित ६२ रन बनाए । विनोद ३७ रनमा आउट भए । रोहितले यो शृंखलाअघि पपुवा न्युगिनीसँगको दुई खेलको शृंखलामा पनि क्रमसः ४१ र ८६ रन प्रहार गरी दुवै खेलमा नेपाललाई जित दिलाएका थिए ।

याे पनि पढ्नुस्
नेपालसँग ५ विकेटले हार्‍यो अमेरिका, कुशल र रोहितको अर्धशतक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर