नेपालसँग ५ विकेटले हार्‍यो अमेरिका, कुशल र रोहितको अर्धशतक – Nepal Press

नेपालसँग ५ विकेटले हार्‍यो अमेरिका, कुशल र रोहितको अर्धशतक

काठमाडौं । रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा २ सय ३० रन जोड्न सफल भएको थियो ।

दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका कुशलले ८४ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेलेका थिए ।

कप्तान ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केँसँगै क्रिजमा उत्रिएका रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । नेपालका लागि ८७ बलको सामना गरेका कुशलले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले रोहितसँग पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्दै ४८ बलमा २ चौका र एक १ छक्कासहित ३७ रनको योगदान गरे ।

यस्तै छैठौं नम्बरमा ब्याटिङका लागि क्रिजमा उत्रिएका करण केसी १ रनमा अविजित रहँदा यसअघि कुशल मल्ल १ रनमा पेभेलियन फर्केका थिए ।

अमेरिकाका लागि नोस्थुस केन्जिगे र निस्राग पटेलले २/२ तथा सौरभ नेत्राभल्करले १ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ रोजेको अमेरिकाले मोनांक पटेलको शतक मद्दतमा २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि १ सय १४ बलको सामना गरेका मोनांकले ९ चौका र १ छक्का प्रहार गरेका थिए । अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि तीव्र गतिका बलर विक्रम शोब र स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले २/२ विकेट लिएका थिए । यस्तै एक विकेट कुशल मल्लको नाममा रह्यो ।

जितसँगै एकदिवसीय शृंखलामा नेपालले शानदार सुरुआत गरेको छ । शृंखलाको दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ ।

अर्को सोमबारम्म चल्ने शृंखलामा नेपालसहित सबै टोलीले ४/४ खेल खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *