तीन वर्षमा ६ सयभन्दा बढी चेली बेचिए – Nepal Press
अझै यसरी बेचिन्छन् चेली

तीन वर्षमा ६ सयभन्दा बढी चेली बेचिए

काठमाडाैं । काठमाडौंकाे तारकेश्वर बस्दै आएका अर्घाखाँची भूमिकास्थान नगरपालिका-७ का ३३ वर्षीय मधु श्रेष्ठ र बबरमहलकी २६ वर्षीया एक युवतीबीच एक वर्षअघि भेट भयो । भेटघाट बाक्लिँदै गएपछि मधुले ती युवतीलाई प्रेम प्रस्ताव गरे । आफ्नी श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र विवाह गर्ने आश्वासन दिएपछि युवती प्रभावित भइन् ।

क्रमशः प्रेम झाङ्गियो । शारीरिक सम्पर्क भयो । अलिपछि मधुले ती युवतीलाई आफ्नै कोठामा राखे । औपचारिक रुपमा विहे भने गरेनन् । केही समयपछि ‘दुबई गएर पैसा कमाएर ल्याऊ, अनि विहे गरौंला’ भनेर मधुले फकाए । युवती विदेश गइन् । दुबइ पुगेपछि थाहा भयो, मधुले १५ हजार दिराममा उनलाई बेचेका रहेछन् ।

दुबईमा उनले यौनसँगै घरेलु हिंसा र यातना भोग्नुपर्‍याे । पीडा सहन नसकेर अरबीको घरबाट भागेर नेपाली दूताबास गइन् । दूताबासले उनलाई नेपाल फर्कादियो । नेपाल आएर उनले मधुविरुद्ध प्रहरीमा उजुरी दिइन् । मधु पक्राउ परे । उनी चाहिँ अहिले माइती नेपालको संरक्षण बसिरहेकी छन् ।

०००

२६ वर्षकी एक युवती काठमाडौंको जोरपाटीस्थित खाजा पसलमा काम गर्थिन् । काठमाडौंको शंखरापुर नगरापालिका-५ साँखुका रमेश कुँवरले ती युवतीलाई इराकको डान्बाारमा वेटर कामका लागि राम्रो भिषा आएको भन्दै प्रलोभन देखाए । ती युवतीलाई मासिक ४० देखि ५० हजार रुपैयाँ तलव पाइन्छ भनेर प्रभावित पारे ।

इराक पठाइदिने भन्दै एक लाख २५ हजार लिएर सात वर्षअघि दुबई पुर्‍याइयो । दुबहीमा राहदानी र मोबाइल खोसेर एक अरबीको घरमा काम गर्न लगाइयो । धरधनी र उनका छोराले दुई वर्ष बन्धक बनाएर निरन्तर यौन शोषण गरे, शारीरिक र मानसिक यातना दिए ।

उनी अनेक प्रयत्नपछि नेपाल आइन् र गत साउन ५ गते मानव बेचविखन अनुसन्धान ब्यूरोमा उजुरी गरिन् । उजुरी परेको एक सातापछि कुँवर पक्राउ परे । प्रहरीले मुद्दा चलायो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

०००

बबरमहलकी एक महिलालाई सप्तरी हनुमाननगरकी सावीत्री मुखियाले मासिक ३५ हजार रुपैयाँ कमाइ हुने भन्दै कुवेत जान उकासिन् । महिलाले राहदानी बनाइन् । कनौल नाकाहुँदै उनलाई भारतको दिल्ली पुर्याइयो ।

दिल्लीमा गणेश राईको अपार्टमेन्टमा १२ दिन बन्धक बनाएर उनलाई अनेक यातना दिइयो । त्यसपछि मुम्बईहुँदै श्रीलंका पुर्याएर बन्धक बनाइयो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्‍याे । पक्राउ पर्नुको कारणसमेत उनलाई थाहा छैन ।

१३ महिना कारगारमा बसेपछि उनलाई दुई महिनाअघि नेपाल सरकारले उद्दार गर्‍याे । उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । पछि उनले मुखियाविरुद्ध प्रहरीमा उजुरी दिइन् । मुखिया पक्राउ परिन् । मुखियाले मानव बेचविखनसम्बन्धी मुद्दा खेपिरहेकी छिन् ।

यी त प्रतिनिधि मात्रै हुन् । यसरी हरेक दिनजसो अनेक बहाना र प्रलोभनमा मानव बेचबिखन भइरहेको छ, विभन्न रुपमा । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ७ सय ७ जना मानव बेखबिखनमा परेका छन् । जसमा ८७ प्रतिशत अर्थात ६ सय १८ जना महिला रहेका छन् ।

प्रहरीका अनुसार ५ सय २८ वटा मानव बेचबिखनका मुद्धा परेको नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले जनाएको छ । व्यूरोका प्रवक्ता एवम् सूचना अधिकारीसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्विवेदीका अनुसार मानव बेचबिखनमा संलग्नमध्ये ५५ प्रतिशत अर्थात ६ सय ४८ अभियुक्त पक्राउ परेका छन् । अरु फरार छन् । पक्राउ पर्नेमा ४ सय ८७ जना पुरुष रहेका छन् भने २ सय ६ जना महिला छन् ।

३ वर्षमा १२ देशबाट ३४३ जनाको उद्धार

तीन वर्षमा बेचविखनमा परेका ३ सय ४२ जनाको उद्धार भएको व्यूरोले जनाएको छ । जसमा २ सय ७६ जना महिला रहेका छन् । भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मलाबी, म्यानमार, चीन, श्रीलंकाबाट उनीहरुको उद्धार गरिएको व्यूरोका प्रमुखसमेत रहेकी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले नेपाल प्रेसलाई जानकारी दिईन ।

उनका अनुसार सबैभन्दा बढी भारतको मणिपुर, मिजुराम, दिल्ली लगायतका शहरबाट २ सय ३८ जनाको उद्धार भएको छ । दोस्रोमा श्रीलंकाबाट २९ र तेस्रोमा लिबियाबाट १७ जनाको उद्धार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *