सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ – Nepal Press

सिरहामा दुई किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ

जनकपुरधाम । दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको  छ ।

प्रहरीका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले माडर नाकाबाट भारत लग्ने योजना पक्राउ परेकी दुबै महिलाले बनाएकी थिइन् । तर चोहर्वामै उनीहरू पक्राउ परेकी छन् ।

लहान आश्रममा मासिक ५० हजारको जागिर लगाइदिने आश्वासन दिएर दुबै किशोरीलाई महिलाहरूले लहान ल्याएकी थिइन् । लहान आइसकेपछि जनकपुरमा अझ बढी रुपैयाँ कमाउने भन्दै झुक्याएर भारततर्फ लग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले किशारीलाई भारततर्फ लान ठिक्क पारेको अवस्था दुई महिला पक्राउ परेको जानकारी दिए ।

उनले जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाएको बताए । प्रहरीले दुबै महिलामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा अगाडि बढाएको छ । उद्धार गरिएकी दुबै किशोरीलाई अभिभावकको जिम्मा लगाउने प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *