विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन शुरू, जिल्ला सभापतिलगायतको बहिष्कार – Nepal Press

विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन शुरू, जिल्ला सभापतिलगायतको बहिष्कार

कैलाली । क्रियाशील सदस्यता विवादकै बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडाअधिवेशन शुरू भएको छ ।

केही दिनअघि उपसभापति विमलेन्द्र निधि, नेता शेखर कोइरालाले डडेलधुराबाट सर्वसम्मत आएका सदस्यको नामावली जिल्ला नेतृत्वसँग समन्वय नै नगरी हटाएर माथिबाट थपेर पठाएको भन्दै पहिला क्रियाशील विवाद टुंग्याएर अधिवेशन गर्न देउवाको ध्यानाकर्षण गराएका थिए ।

यो पनि पढ्नुस् :

शुक्रबार बिहान ८ बजे देखि ५ गाउँपालिका र २ नगरपालिकामा एकैसाथ अधिवेशन शुरू भएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले केही वडामा सर्वसम्मत नेतृत्व चयन समेत भइसकेको जानकारी दिए ।

‘जिल्लामा केन्द्रको निर्देशन अनुसार अधिवेशन सुरु भइसकेको छ’ उनले नेपाल प्रेससँग भने, ‘जिल्लाका ५२ वडामध्ये केही वडाहरूमा त सर्वसम्मत नेतृत्वसमेत चयन भएको जानकारी पाएको छु । ’ सर्वसम्मत हुन नसकेका वडाहरूमा निर्वाचन प्रक्रिया शुरू गरिएको छ ।

वडाअधिवेशनलाई जिल्ला नेतृत्वसहित देउवाइतरका नेताहरूले वहिष्कार गरेका छन् । ‘क्रियाशील सदस्यको विवादका कारण हामीले स्थगित गरेका हौँ’ कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले भने, ‘उहाँ एकपक्षीय रूपमा राज्यको शक्ति दुरुपयोग गरेर अधिवेशन गराउने पक्षमा हुनुहुन्छ । ’

मल्लले तल्लो तहबाट पठाएका करिब ५०३ जना क्रियाशील सदस्य हटाएको र केन्द्रबाट ३१३ जनाको नाम समावेश गरेको आरोप लगाए ।

‘म पार्टी जिल्ला सभापति हो । मसँग सल्लाह पनि भएको छैन । म अहिले पनि पार्टी कार्यालय नजिक छु मलाई केही जानकारी छैन’ उनले भने, ‘५२ वडा सभापतिले सार्वजनिक सूचना गर्नुपर्ने हो तर कतै भएको छैन । केन्द्रीय सभापतिबाटै अलोकतान्त्रिक काम भइरहेको छ । ’

उनले सशस्त्र र जनपथ पठाएर निर्वाचन गराउन लगाएको आरोप लगाए । आजै रामचन्द्र पौडेल पक्षका नेताहरूले बालुवाटारमा देउवालाई भेटेर पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न सचेत गराएका थिए ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर, जिल्लाको निर्णयलाई काउन्टर दिएर निर्वाचन अधिकृतले जबर्जस्ती अधिवेशन अघि बढाएको गुनासो मल्लको छ ।

अमरगढी नगरपालिका- २ का वडा सभापति मनोरथ खडायतले पनि केन्द्रीय सभापतिले बल प्रयोग गरेर अधिवेशन आयोजना गर्न लागेको बताए ।

‘एउटा गुटको पावरको आधारमा अधिवेशन भइएको छ । पार्टीको पद्धति मिचिएको छ’ उनले भने, ‘मैले पनि कार्यक्रम स्थगित गरेर आएको । तर, उनीहरू अधिवेशन गर्न लागेको बताए । ’

देउवानिकटका नेता तथा पर्शुराम नगरपालिकाकाका मेयर भीमबहादुर साउदले भने जिल्लामा क्रियाशील सदस्यताको विवाद नरहेको जिकर गरे ।

‘क्रियाशील सदस्यताको सूची जिल्ला सभापतिले केन्द्रमा पठाउनु भएको हो केन्द्रमा छानविन भयो । छानविनपछि सूची सार्वजनिक गरेको हो अब त्यसमा विवाद गर्न मिल्दैन’ उनले भने, ‘जिल्लामा केही ठाउँमा विवाद भएको होला यहाँ भइरहेको अधिवेशनमा सबै सहभागी छन् । ’

उनले प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्ला भएको हुँदा अनावश्यक बखेडा झिकिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर