देउवाविरुद्ध खुले निधि, डडेल्धुरा प्रकरणमा शेखरसँग मिल्यो स्वर – Nepal Press

देउवाविरुद्ध खुले निधि, डडेल्धुरा प्रकरणमा शेखरसँग मिल्यो स्वर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरा जिल्ला अधिवेशनसम्बन्धी विवाद टुंग्याउन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

आज एक पत्र लेख्दै निधिले तलबाट आएको नामावलीमा केही हटाएर माथिबाट थपेर सम्बन्धित जिल्लासँगको समन्वयबिना अधिवेशन तोकिएकोमा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचन गर्न माग गरेका छन् ।

‘डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ । सम्पूर्ण प्रकृया पुर्‍याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति श्री कर्णबहादुर मल्ल द्वारा जिल्ला कार्य समितिको निर्णय सहितको विज्ञप्ति पनि आएको छ,’निधिले भनेका छन्, ‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकार वालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु ।’

आज बिहान कांग्रेस नेता शेखर कोइरालाले पनि डडेलधुराको वडादेखि जिल्लासम्म कुनै विवाद नभइ पठाएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाएर ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताएका थिए ।

‘यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाइँदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ’, कोइरालाले सामाजिक सञ्जालमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर