सिन्धुलीको गणित : नेकपा एसमा एक जनामात्र, एमालेले यसरी पायो बोनस – Nepal Press

सिन्धुलीको गणित : नेकपा एसमा एक जनामात्र, एमालेले यसरी पायो बोनस

सिन्धुली । नेकपा एमाले विभाजनले धेरथोर असर प्रत्येक जिल्लामा पुगेको छ । तर, सिन्धुली भने अपवाद बनेको छ ।

माधव नेपाल समूहमा रहेका सबै नेताहरु एमालेमै बस्नु र अदालतबाट नेकपा एकता बदरपछि प्रभावशाली माओवादी नेताहरुले एमाले रोज्नुले सिन्धुलीमा विभाजनबाट थप शक्ति आर्जन भएको नेताहरू बताउँछन् ।

सिन्धुली एमालेको हालै बसेको जिल्ला कमिटी बैठकले १० बुँदे सहमति कार्यन्वयन गर्दै जेठ २ मा फर्किने निर्णय गरिसकेको छ । सिन्धुलीमा माधव नेपाल पक्षका नेताहरुमध्ये कमलामाइ नगरपालिकाका मेयर खड्ग खत्री पनि अन्तिममा एमालेमै रहेपछि विभाजनबाट जिल्ला जोगिएको हो ।

माधव पक्षका सांसद तथा केन्द्रीय सदस्य गणेश पहाडी र जेठ २ अघिका जिल्ला इन्चार्ज कमलजंग राई दनुवारले केही समयअघि नै नेपाल समूह छाडेका थिए ।

जिल्लाका निर्वाचित जनप्रतिनिधिमध्ये एकजना वडा सदस्यबाहेक अरु सबै एमालेमै रहेको पहाडीले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थनीय तहमा एमालेबाट निर्वाचित २०८ जनप्रतिनिधिमध्ये एकजनाले नेकपा एसमा सनाखत गरेका छन् ।

सिन्धुलीबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गणेश पहाडी र समानुपातिकबाट गोमा देवकोटा छन् । उनीहरु दुवैजना एमालेमै रहेका छन् भने प्रदेशसभा सदस्य प्रदीप कटुवाल र विनोद खड्का पनि एमालेमै छन् ।

जिल्ला समन्वय समितिका प्रमुख शंकर वर्मासहित चारजना सदस्य जितेको सबै एमालेमै रहेका छन् । स्थानीय तहमा एमालेले कमलामाइ र दुधौली नगरपालिका जितेकोमा दुवै नगरका मेयर उपमेयर र सबै वडाध्यक्ष एमालेमै रहेका छन् ।

त्यस्तै गाउँपालिकातर्फ अध्यक्ष एकजना र उपाध्यक्ष दुईजना जितेकोमा उनीहरु पनि एमालेमै छन् । एमालेले जिल्लामा ३२ वडा अध्यक्ष र १४२ सद सदस्य जितेकोमा सबै एमालेमा रहेका छन् ।

सिन्धुली एमालेलाई थप बलियो बनाउन तत्कालीन माओवादीबाट प्रदेश कमिटीमा रहेका ६ जना नेता नेकपा एकता बदरपछि एमालेमा रहे । संविधानसभा सदस्य निरु दर्लामी कुँवर, विषमलाल अधिकारी दनुवार र अर्का प्रभावशाली नेता शान्तिमान कार्की समेत एमालेमा मिसिएपछि पार्टी विभाजनपछि झन् बलियो बनेको पहाडीले बताए ।

स्थानीय तहका निर्वाचित कतिपय वडा सदस्य समेत माओवादीबाट एमालेमा प्रवेश गरेपछि पार्टी विभाजनबाट एमालेले बोनस पाएको चर्चा सिन्धुलीमा छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधि :

प्रतिनिधिसभा

गणेश पहाडी

गोमा देवकोटा

प्रदेशसभा

प्रदीप कटुवाल

विनोद खड्का

स्थानीय तह

कमलामाइ नगरपालिका

मेयरः खड्ग खत्री

उपमेयरः मन्जु देवकोटा

दुधौली नगरपालिका

मेयरः घनश्याम राउत

उपमेयरः बालकुमारी दनुवार

फिक्कल गाउँपालिका

अध्यक्षः धनवहादुर कार्की

उपाध्यक्षः पार्वती सुनुवार

तीनपाटन गाउँपालिका

उपाध्यक्षः पदममाया तामाङ

संविधानसभा सदस्य

विषमलाल अधिकारी दनुवार

निरु दर्लामी कुँवर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *