गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा झापासहित ३ जिल्ला प्रथम – Nepal Press

गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा झापासहित ३ जिल्ला प्रथम

ललितपुर र रुकुम पश्चिम दोस्रो र गुल्मी तेस्रो बन्न सफल

काठमाडौं । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सात वटै प्रदेशका ७७ जिल्लामध्ये झापा, अर्घाखाची र रुकुम पूर्व अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका छन् । मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखले गरेको मुल्यांकन अनुसार ति जिल्ला अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका हुन् ।

मन्त्रालयका अनुसार ललितपुर र रुकुम पश्चिम उत्कृष्ठ कार्यसम्पादनसहित दोस्रो र गुल्मी तेस्रो स्थानमा पर्न सफल भएको मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाले जनाएको छ । कार्यसम्पादनमा अव्बल देखिएका जिल्लालाई प्रदेशस्तरिय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका सहसचिव कमल ढकालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

उनका अनुसार उत्कृष्ठ कार्यसम्पादनस्तर भएका अन्य जिल्ला ११ वटा रहेका छन् । यस्तै उत्तम, मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला क्रमशः १८, २१ र २१ वटा रहेका छन् ।

कार्यसम्पादन सम्झौतको ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको समग्र मापनका आधारमा मल्यांकन गरिएको मन्त्रालयले जनाएको छ ।

उत्कृष्ट हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीद्धारा खुसी व्यक्त
नतिजा सार्वजनिक भएलगत्तै उत्कृष्ट हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीले खुसी व्यक्त गरेका छन् । जस अन्तरगत तेस्रो हुन सफल गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो जिल्ला तेस्रो हुन सफल भएकोमा खुसी व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘आर्थिक वर्ष २०७७-०७८ को वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट कार्यसम्पादनसहित गुल्मी जिल्ला तेस्रो स्थानमा आउन सफल भएकोमा खुशी लागेको छ । कार्यसम्पादनमा सहयोग गर्ने कार्यालयका सम्पूर्ण साथीहरु सुरक्षा निकाय तथा सरोकारवाला सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।’

दोस्रो स्थान हासिल गर्ने रुकुम पश्चिमले पनि खुसी व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, ‘गत आर्थिक बर्ष २०७७-७८ को बार्षिक कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले दोस्रो स्थान हासिल गर्न सकेकोमा खुशी मिलेको छ । यो नतिजा हासिल गर्न सहयोग पुर्याउने कार्यालयका सबै सहकर्मी साथीहरू लगायत प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्याउने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

गृह प्रशासन सुधार कार्ययोजना, २०७४ मा विभागीय प्रमुख र कार्यालय प्रमुखसँग कार्यविवरण र सूचक तयार गरी कार्यसम्पादन सम्झौता गराई काममा खटाउन सक्ने व्यवस्था उल्लेख गरिएको छ । त्यसै व्यवस्था अनुसार कार्यक्षेत्र तथा कानूनी प्रावधान भित्र रही गृह मन्त्रालयमा २०७४ देखि मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसँगबीच कार्यसम्पादन सम्झौता गरी त्यसको वार्षिक मुल्यांकन पद्धति विकास गरी कार्यान्वयनमा ल्याइएको हो । त्यस व्यवस्थालाई आर्थिक वर्ष २०७७-०७८ मा समेत निरन्तरता दिदैँ गृह सचिव र सबै प्रमुख जिल्ला अधिकारीसँग वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन हुदैँ आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *