नेप्सेमा डरलाग्दो पहिरो, ठूला लगानीकर्ताको निसानामा राष्ट्रबैंक – Nepal Press

नेप्सेमा डरलाग्दो पहिरो, ठूला लगानीकर्ताको निसानामा राष्ट्रबैंक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कारोबार शुरू भएको दुई घण्टामै १४७.३१ अंकको पहिरो आयो र नेगेटिभ सर्किट ब्रेक लाग्यो । इतिहासमै सर्वाधिक अंकले गिरावट आउँदा नेप्से ५.३ प्रतिशतले घट्न पुगेको थियो ।

४० मिनेटको सर्किट ब्रेकपछि खुलेको बजार केही सम्हालियो । तर, दिनभर उतारचढाब कायमै रह्यो । आजको कारोबारमा ६० वटाभन्दा बढी कम्पनीले नकारात्मक सर्किट झेलेका छन् ।

नेप्सेमा यति ठूलो पहिरो आउनुमा मुख्य कारण राष्ट्र बैंकले तोकेको सेयर धितोकर्जा सीमा भएको ठूला लगानीकर्ताको दावी छ । उनीहरूले गभर्नरको राजीनामासमेत मागेका छन् । साना लगानीकर्ता भने राष्ट्र बैंकले ठीक नीति ल्याएको भन्दै सामाजिक सञ्जालमा गभर्नरको पक्षमा उत्रिरहेका छन् ।

राष्ट्र बैंकले सेयर धितोकर्जामा ४ देखि १२ करोडको सीमा लगाउँदा बजारमा अझ ठूलो उथलपुथल आउने बताउँछन् सेयरविज्ञ मुक्ति अर्याल । राष्ट्र बैंकले यतिसम्म ऋण लेऊ भनेर सीमा तोक्न नमिल्ने उनको तर्क छ ।

‘यदि राष्ट्र बैंकलाई केही लगानीकर्ताले मात्र सेयर धितोमा दोहोर्‍याइ/तेहर्‍याइ कर्जा लिएको छ भन्ने लाग्छ भने त्यस्तो कर्जालाई रोक्ने हो तर, समग्रमा कर्जामा नै सिलिङ लगाउन मिल्छ र ?’ उनले प्रश्न गरे । कर्जा पाउने अधिकार सबैको हुने भएकाले यसमा राष्ट्र बैंकले लगाएको सीमा तुरुन्त हटाउनु पर्ने उनले बताए ।

‘सेयर बजारमा ठूला र अर्बौं ऋण लिने मात्र छैनन् । साना लगानीकर्ताले पनि ऋण लिएर पुँजीबजारमा लगानी गरेका छन् । उनीहरूको लगानी चाहिँ अहिले डुब्दा राष्ट्र बैंक खुसी भएको होला ?’ अर्यालले भने ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने सेयर घट्नुमा राष्ट्रबैंक जिम्मेवार नरहेको बताउँछन् ।

‘नेप्सेको कुरा त धितोपत्र बोर्डलाई सोध्नुपर्छ, राष्ट्र बैंकलाई सोधेर हुन्छ ?’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको विकासका लागि राष्ट्र बैंकले विभिन्न नीति ल्याइरहन्छ, अहिले सेयर बजारका लागि पनि त्यही गरेको हो ।’

राष्ट्र बैंकले सेयर धितो कर्जा कार्यान्वयन गर्छ कि ब्याक हट्छ भन्नेमा आफूलाई पनि थाहा नभएको प्रवक्ता ढकालले बताए ।

राष्ट्र बैंकले ल्याएको नीतिका कारण नै बजार ओरालो लागेको बताउँछिन् लगानीकर्ता राधा पोखरेल । उनकाअनुसार राष्ट्र बैंकले ल्याएको नीतिले ठूला लगानीकर्ता सेयर बजारबाट बाहिरिएमा सेयर बजारको विकासमा ठूलो धक्का पुग्नेछ । अहिले अर्बौंको लगानी रहेको सेयर बजारलाई राष्ट्र बैंकले जानी-बुझिकन लगाम लगाउन खोजेको उनको आरोप छ ।

‘राष्ट्र बैंकले ल्याएको १२ करोड सेयर कर्जालाई तुरुन्त ‘रिभ्यू’ नगर्ने हो भने बजार धेरै तल झर्ने छ,’ उनले भनिन् ।

१२ करोडको नीतिले सेयर बजारमा उथलपुथल ल्याएको भन्दै अर्थमन्त्री पनि गभर्नर महाप्रसाद अधिकारीसँग रुष्ट रहेको बताइएको छ । मौद्रिक नीतिका कारण बजारमा लगानीयोग्य रकमको अभाव भएको भन्दै गभर्नर र अर्थमन्त्रीबीचमा दूरी बढ्न थालेको अर्थमन्त्रालय श्रोत बताउँछ ।

स्रोतका अनुसार गभर्नरले ठूला लगानीकर्तालाई पाखा लगाउने किसिमले नीति ल्याएकाले त्यसको असर सेयर बजारमा परेको हो । ठूला तथा साना लगानीकर्तालाई मिलाएर लैजानु पर्नेमा गभर्नरले साना लगानीकर्ताको मात्रै संरक्षण गर्न खोजेको स्रोतको भनाइ छ ।

गभर्नर अधिकारी भने आफूले सोचविचार गरिकन सेयर धितोकर्जाको सीमा तोकेको बताउँछन् । उनले आर्थिक पत्रकारलाई केही समयअघि भर्चुअल मिटिङमा सेयर धितोकर्जा १२ करोड हुनु थोरै नभएको बताएका थिए । उनले ‘५ करोड ऋण लिनका लागि कति कागजात चाहिन्छ हेर्नु भएको छ ?’ भन्दै पत्रकारलाई प्रश्न गरेका थिए ।

सेयर बजारमा २/४ जनाले अर्बौं रूपैयाँ पटक-पटक ऋण लिएकाले त्यस्तो ऋणले बैंकसमेत जोखिममा पर्ने देखिएकाले यो नीति ल्याएको उनको जिकिर छ । सेयर धितोकर्जा मार्जिनले औद्योगिक र व्यवसायिक कर्जालाई प्रभावित नबनाउने उनले बताएका छन् । राष्ट्र बैंक यो कर्जा कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको उनले संकेत गरे ।

गभर्नरले सेयर धितोकर्जा सीमालाई कार्यान्वयन गर्ने भनिरहँदा लगानीकर्ताले भने गभर्नरको राजीनामा मागेका छन् । गभर्नरले आफूखुसी सेयर बजारलाई लगाम लगाउन नपाउने भन्दै नेपाल इन्भेष्टर फोरम, पूँजीबजार सुधार संघर्ष समितिलगायतका संघसंस्थाले अर्थमन्त्रालयको यसअघि नै ध्यानआकर्षण गरिसकेका छन् भने आज पुँजीबजार संघर्ष समितिले गभर्नर अधिकारीको राजीनामा माग गरेको हो ।

तत्काल यो निणर्य फिर्ता नभए भोलीबाट देशव्यापी रुपमा लगानीकर्ता बोलाएर राष्ट्र बैंक घेराउ गर्ने समितिले चेतावनी दिईएको छ । यता राष्ट्र बैंक र अर्थमन्त्रालयमा यस विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर