ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित) – Nepal Press

ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

झापा । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् ।

एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको प्रभाव वडा सदस्यसम्म परेको छ ।

अध्यक्ष ओलीको गृहजिल्ला झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।

उनीहरू पाँचैजनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।

त्यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४जना उपाध्यक्ष छन् । उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न एकजना पनि गएका छैनन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन् भने वडा अध्यक्ष तथा सदस्यहरू कसैले पनि एमाले नछाडेको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुखसमेत रहेका नेता अग्नि खरेलले बताए ।

निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोमा शुक्रबारसम्म एकजना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘झापामा जसपाबाट स्थानीय तहमा जनप्रतितिनिधि छैनन् । एमालेबाट निर्वाचित भएका कोही पनि सनाखत गर्न आउनुभएको छैन । एकजना वडा सदस्य बुझ्न भनेर आउनुभएको थियो तर फर्किनुभयो ।’

एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले झापामा सिंगो पार्टी कमिटी र जनप्रतिनिधिहरू पार्टी एकताको पक्षमा उभिएको बताए ।

स्थानीय तहबाट निर्वाचितमध्ये अर्जुनधाराका मेयर हरि राना,भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठ र शिव सताक्षीकी उपमेयर भोजकुमारी नेपाल विभाजनपूर्व माधव नेपाल समूहमा थिए ।
तर विहीवारको जिल्ला कमिटी सचिवालय बैठकमा सहभागी भएर उनीहरुले एमालेमै रहने बताएका छन् ।

सूचीमा हर्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर