चितवनका ३०९ स्थानीय जनप्रतिनिधिमध्ये २६ एकीकृत समाजवादीमा, अधिकांश पदाधिकारी एमालेमै – Nepal Press

चितवनका ३०९ स्थानीय जनप्रतिनिधिमध्ये २६ एकीकृत समाजवादीमा, अधिकांश पदाधिकारी एमालेमै

चितवन । अहिलेसम्म चितवनका एमालेबाट चुनाव जितेका २६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार अहिलेसम्म २६ जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेमा सबैभन्दा धेरै वडाअध्यक्षहरु छन् । स्थानीय तहका धेरैजसो प्रमुख–उपप्रमुख भने अझै प्रष्टरुपमा खुलिसकेका छैनन् । भरतपुर महानगरबाट १२ जना र रत्ननगर नगरपालिकाबाट ११ जनाले नेकपा एसको पक्षमा सनाखत गरेका छन् । जसमध्ये भरतपुरका ५ र रत्ननगरका ३ वडाध्यक्ष छन् ।

भरतपुर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा र २२ का विष्णुराज महतो नेकपा एसमा खुलेका हुन् । एमालेले ७ नम्बरमा वडाध्यक्ष मात्रै जितेको थियो । यस्तै १० नम्बर वडामा सेट नै जितेपनि एक जना वडा सदस्य जिसस सदस्य बनेका छन् ।

विमला भट्टराईबाहेक १२ नम्बर वडाका जनप्रतिनिधि नेकपा एसमा लागेका छन् । २२ नम्बर वडामा पनि सेट नै जितेको एमालेबाट वडाध्यक्ष र सदस्य देउमाया विक नेकपा एसमा लागेका छन् ।

महानगरमा एमालेबाट ६९ जना निर्वाचित थिए । जसमध्ये १३ वडाध्यक्ष थिए ।

यस्तै रत्ननगर-९ का वडाध्यक्ष रोशन आचार्य, १४ का हरिकुमार श्रेष्ट र १५ का हुमनाथ लामिछाने नेकपा एसमा खुलेका छन् ।

चितवनमा स्थानीय तहको चुनावमा एमालेबाट ३ सय ९ जना निर्वाचित थिए । मेयरमा ४ जना, उपमेयरमा ५ जना, ५५ जना वडाध्यक्ष, ५८ जना महिला सदस्य, ५३ जना दलित महिला सदस्य र १ सय १६ जना अन्य सदस्य पदमा निर्वाचित भएका थिए । नेकपा एसका भरतपुर महानगर कमिटी अध्यक्ष विष्णुराज महतोले एमालेबाट निर्वाचित करिब ४५ प्रतिशत जनप्रतिनिधि नेकपा एसको पक्षमा रहेको दावी गरे ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चितवन क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डे र २ का ३ कृष्णभक्त पोखरेलले पार्टी एकताको पक्षमा उभिने भन्दै माधव नेपालको साथ छाडेर एमालेमै बसेका छन् ।

राष्ट्रियसभा सदस्य पार्वती रावल पनि एमालेमै छिन् । वागमती प्रदेशमा चितवनबाट प्रतिनिधित्व गर्ने एमालेका ५ जनामध्ये कृष्णप्रसाद शर्मा खनाल र पार्वती सिलवालमात्रै नेकपा एसतर्फ लागेका छन् ।

खनाल अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन नै सामाजिक विकास मन्त्री बनेका थिए । १५ दिनसम्म मन्त्री बनेपछि उनी नेकपा एसले फरक दलको सरकारमा बस्ने निर्णय नगरेको भन्दै राजीनामा बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर