विवेकशील साझामा विभाजनको पूर्वाभ्यास, डेढ घण्टाको फरकमा समानान्तर बैठक आह्वान – Nepal Press

विवेकशील साझामा विभाजनको पूर्वाभ्यास, डेढ घण्टाको फरकमा समानान्तर बैठक आह्वान

काठमाडौं । अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई लिएर विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीमा विभाजनको कसरत शुरू भएको छ । अध्यक्षलाई काउन्टर दिँदै संयोजक मिलन पाण्डेले केन्द्रीय कमिटीको समानान्तर बैठक बोलाएका छन् ।

अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका थिए । उनले मंगलबार नै सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको सूचना पठाएका थिए । तर, अध्यक्षले एकतर्फीरूपमा बैठक बोलाएको भन्दै असन्तुष्ट बनेका संयोजक मिलन पाण्डेले त्यही दिन समानान्तर वैठक बोलाएका हुन् ।

अध्यक्ष र संयोजकले डेढ घण्टाको अन्तरमा फरक-फरक वैठक बोलाएपछि पार्टीका केन्द्रीय सदस्यहरुलाई आफ्नो कित्ता प्रष्ट पार्नैपर्ने बाध्यता भएको छ । यसले दुवै पक्षमा कति केन्द्रीय सदस्य छन् भन्ने पनि छर्लंङ्ग छ ।

मिश्र पक्षकी केन्द्रीय समीक्षा बास्कोटाले संयोजकसँग सहमति हुन नसकेपछि अध्यक्षले पार्टीलाई अनिर्णयको बन्दी बन्न नदिन बैठक डाक्नुपरेको बताइन् ।

‘अध्यक्षले बोलाउनुभएको बैठक नै आधिकारिक हो,’ उनले भनिन्, ‘वैठकमा सबै केन्द्रीय सदस्यलाई खबर गरिएको छ र आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

बैठकमा अध्यक्ष मिश्रले सार्वजनिक बहसमा ल्याएको प्रस्तावमाथि छलफल नहुने बास्कोटाको दावी छ । यद्यपि, पार्टीको गतिरोधका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास गरिने उनले बताइन् । बैठकका एजेण्डाहरू भने सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।

यता, पाण्डे पक्षले भने अध्यक्षबाट दुई पार्टी एकीकरण हुँदाको सम्झौतापत्र मिचेर बैठक बोलाइएको भन्दै त्यसलाई आफूहरूले काउन्टर दिएको जनाएको छ ।

‘सम्झौतापत्रमा एकताको महाधिवेशन नहुँदासम्म अध्यक्ष र महासचिवले संयुक्तरूपमा बैठक बोलाउने भनिएको थियो,’ पाण्डे पक्षका केन्द्रीय सदस्य हरिश भट्टले भने, ‘तर, उहाँले एकतर्फीरूपमा बैठक बोलाएपछि समस्या आयो । संयोजकले इमेल गरेर वैठक रोक्न आग्रह गरे पनि सुनवाइ भएन ।’

अध्यक्ष मिश्रले आफूसँग बहुमत भएकाले केन्द्रीय समितिबाटै आफ्नो दस्तावेज पारित गराउने उद्देश्य राखेको भट्टको भनाइ छ । आफ्नो दस्तावेजसँग असन्तुष्ट हुनेहरूलाई पार्टी फुटाउन मिश्रले आग्रह गरिरहेको पनि उनी बताउँछन् ।

‘पछिल्ला विभिन्न वैठकमा रवीन्द्र मिश्रले तपाईंहरु पार्टी फोड्नुस, म आफ्नो दस्तावेजबाट पछि हट्दिन भन्दै आउनुभएको छ,’ उनले भने, ‘हामीले चाहिँ अहिले दुवै दस्तावेज होल्ड गरेर महाधिवेशनबाट छिनोफानो गरौं भन्ने प्रस्ताव गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर