अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले – Nepal Press

अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

जनकपुरधाम । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा ‘सरुवा’ भएका मन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरे ।

आज बिहान कृषि मन्त्रालयमा पुगेका मन्त्री साहलाई कर्मचारीहरूले बिदाई गरेका थिए । लगत्तै उनले मधेस भवनभित्रै रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

यता, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री विजयकुमार यादवले भने भोलि वा पर्सिमात्र पदभार ग्रहण गर्ने बुझिएको छ ।

मन्त्री यादवनिकट एक नेताले भने, ‘मिडियामा राजीनामा दिने हल्ला फैलाइएको छ । त्यसमा कुनै सत्यता छैन । पार्टीको निर्णय अनुसार मन्त्रालय हेरफेर गरिएको छ ।’ कृषि मन्त्रालयमा मन्त्री साहको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएकाले माथि उकास्न मन्त्री यादवलाई पठाएको ती नेताको दावी छ ।

मन्त्रालय हेरफेर गरिएका दुवै मन्त्री जनता समाजवादी पार्टी (जसपा) का हुन् । यादव सिरहा र साह सप्तरीमा अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर