पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति – Nepal Press

पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

रूपन्देही । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर