सुर्खेतका ४३ मध्ये पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा, पालिका प्रमुख–उपप्रमुख सबै एमालेमै – Nepal Press
एमालेबाट जितेका जनप्रतिनिधि को–कता ?

सुर्खेतका ४३ मध्ये पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा, पालिका प्रमुख–उपप्रमुख सबै एमालेमै

सुर्खेत । नेकपा एमाले विभाजनको असर जिल्ला र स्थानीय तहमा देखिन थालेको छ । दल विभाजनसम्बन्धी अध्यादेशले स्थानीय तहका जनप्रतिनिधिलाई पनि २१ दिनभित्र नयाँ दल रोज्ने अधिकार दिएकाले अब वडा तहका प्रतिनिधिले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी रोज्न पाउनेछन् ।

कर्णालीको राजधानी सुर्खेतमा माधव नेपाल पक्ष बलियो भए पनि जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीसहितका तीन तिहाईभन्दा बढी एमालेमै रहेपछि सुर्खेतमा माधव नेपाल पक्ष कमजोर देखिएको छ । शाही नेपाल पक्षका थिए ।

सुर्खेतमा पार्टी अधिवेशनमा एमालेको माधव समूह विजय भएको थियो । एमालेका तत्कालीन जिल्ला सचिव मोहन बडुवालको नेतृत्वमा नयाँ दल गठन भएपनि नयाँदल प्रवेश गर्नेहरुको संख्या न्यून देखिएको छ ।

६३ सदस्यीय नेकपा एमाले जिल्ला कमिटिमा सदस्य हर्क रानाको मृत्यु भइसकेको छ । बाँकी ६२ जनामा नौजना मात्रै नयाँ दलमा सहभागी भएका छन् । पार्टी पदाधिकारीमा सचिव मोहन बडुवाल र उपसचिव टोपबहादुर रास्कोटी समाजवादीतर्फ खुलेर लागेका छन् ।

संयोजक रहेका बडुवाललाई साथ दिन जिल्ला कमिटिबाट खगेन्द्र पोखरेल, केदार कँडेल, हरि खनाल, मनबहादुर कामी, गुमानसिंह कामी, रामकुमार दर्लामी र जागुराम थारु नयाँ दलमा सहभागी भएका हुन् ।

झिनो संख्यामा जनप्रतिनिधिहरु नयाँ दल प्रवेश

सुर्खेतमा नौ वटा पालिकाका ९९ वडामा एमाले एक्लैले स्थानीय तहको निर्वाचनमा ४३ वटा वडामा विजय प्राप्त गरेको थियो । तीन ओटा स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको एमाले विभाजन हुँदा भने केही वडाअध्यक्ष र सदस्य मात्रै नयाँ पार्टीमा सहभागी भएका छन् ।

सुर्खेतमा एमालेले सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिकामा विजय हात पारेको थियो । सिम्ताका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगरप्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना पनि एमालेमै बस्ने भएका छन् ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल एमालेमै छन् । उनी नेकपा विभाजनको बेला समेत केपी ओली पक्षमा थिइन् ।

नयाँ दलमा वीरेन्द्रनगर नगरपालिकाका तीन ओटा वडाअध्यक्ष प्रवेश गरेका छन् । १६ वडा रहेको वीरेन्द्रनगरमा नौ वडामा एमालेले विजय प्राप्त गरेको थियो । नयाँ दलमा सहभागी भएका वडा अध्यक्षहरुमा वडा नं. ८ का रत्नबहादुर बुढा, वडा नं. १० का लोकप्रसाद चालिसे र वडा नं. १२ का थम्मप्रसाद गौतम हुन् ।

चौकुने गाउँपालिका वडा नं. १ का लक्ष्मण आले र सदस्यहरु नयाँ दलमा सहभागी भएका छन् भने पञ्चपुरी नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष रतनबहादुर विसी समाजवादीमा लागेका छन् । सो नगरपालिकाको वडा नं. १, ३, ५, ७ र ९ मा एमालेले विजय प्राप्त गरेको थियो ।

एक पालिका अध्यक्ष नयाँ दलमा, एक ढुलमुल

सुर्खेतका नौ वटा पालिकाका एमाले अध्यक्षहरुमा एक जना मात्रै नयाँ दलमा प्रवेश गरेका छन् भने एक अध्यक्ष ढुलमुल देखिएका छन् । पन्चपुरी नगर कमिटी अध्यक्ष मनबहादुर विश्वकर्मा मात्रै नयाँ दलमा खुलेर लागेका छन् भने बराहताल गाउँ कमिटी अध्यक्ष ओम महतारा भने हालसम्म ढुलमुल अवस्थामा रहेको एमाले स्रोत बताउँछ ।

अन्य सबै पालिकाका अध्यक्षहरु एमालेमै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर