यसरी टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद, कहाँ कसरी हुने भए अधिवेशन ? – Nepal Press

यसरी टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद, कहाँ कसरी हुने भए अधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधन भएको छ । शीर्ष नेताहरूबीच सहमतिका आधारमा क्रियाशील सदस्यता टुंग्याउने समझदारीसँगै १४ औं महाधिवेशन निश्चित भएको नेताहरूले बताएका छन् ।

क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कांग्रेसमा निर्वाचनको सरगर्मी बढेको छ ।

कांग्रेसका १ सयभन्दा बढी वडामा नवीकरण, नयाँ र समायोजनका सदस्यताबारे विवाद रहेको थियो । ती सबै विवाद सैद्धान्तिक सहमति र नयाँ मापदण्डका आधारमा समाधान हुने भएको हो ।

कहाँ कसरी भयो सहमति ?

क्रियाशील छानविन समितिले टुंग्याउन बाँकी विवाद समाधानको जिम्मा पूर्वमहामन्त्री सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकले पाएका थिए । सो समितिले विवाद समाधानका लागि सैद्धान्तिक सहमति जुटाएको हो । जसअनुसार केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरिएको छ । त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुनेछ ।

समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे भदौ १२ गतेभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ ।

समायोजनका सम्बन्धमा देखिएको समस्या समाधान गर्न साझा मापदण्ड प्रस्ताव गरिएको छ । जसअनुसार ‘कुनैपनि वडामा समायोजनको संख्या नवीकरण भएका सदस्यको संख्याभन्दा बढी हुन नहुने’ सहमति बनेको छ । जसअनुसार कुनै वडामा कांग्रेसको नवीकरण भएको भन्दा बढी समायोजनबाट आएका सदस्यहरू रहेछन् भने संख्या घटाइनेछ ।

क्रियाशील सदस्यताबारे सबैभन्दा बढी बारा र सप्तरीमा विवाद देखिएको थियो । सहमतिअनुसार सप्तरीको ३ नम्बर क्षेत्रका केही वडाहरूमा नयाँ सदस्यता स्थगन गएिको छ । त्यस्तै क्षेत्र नम्बर १, २ र ४ मा १३ औं महाधिवेशनका सदस्यकै आधारमा अधिवेशन हुनेछ ।

समितिले धुनषा ४ र सर्लाही २ को विवाद भने टुंग्याइसकेको छैन । ती क्षेत्रबारे भदौ १२ गतेभित्र निर्णय लिइसक्ने सहमति भएको छ । ती क्षेत्रको विवाद समाधानका लागि सम्बन्धित क्षेत्रका नेताहरूसँग छलफल हुनेछ ।

बाराको १ र ४ नम्बर क्षेत्रमा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यहाँ १३ औ महाधिवेशनका सदस्यहरूमात्रै अधिवेशनमा भाग लिनेछन् । त्यस्तै २ नम्बर क्षेत्रका ४४ वडामध्ये ३३ वटामा विवाद देखिएका थिए ।

तीमध्ये १७ वटा वडामा नयाँ सदस्यता स्थगन गरी १३ औं महाधिवेशनकै सदस्यताबाट अधिवेशन हुने भएको छ । ५९ वटा वडा भएको बाराको ३ नम्बर क्षेत्रमा ३ वटा वडामा नयाँ सदस्यता स्थगन गरिएको छ ।

अन्तिम रूप दिने जिम्मा यी नेतालाई

सिटौला नेतृत्वको समितिले गरेको सहमतिका आधारमा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । ती नेताहरू क्रियाशील सदस्यता छानविन समितिका सदस्य हुन् । उनीहरूले पछिल्लो सहमतिअनुसार क्रियाशीलको सूचीलाई अन्तिम रूप दिनेछन् ।

तत्काल कार्यान्वयन र सूची सार्वजनिक

शीर्ष तहमा भएको सहमतिअनुसार सिटौला नेतृत्वको समितिले सहमति गरेबाहेकका ठाउँमा क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेबमोजिम हुनेछ । नयाँ सहमति आकर्षित हुनेबाहेकका स्थानमा लेखक नेतृत्वको छानविन समितिले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकै बीचमा भएको छ ।

त्यस्तै नयाँ सहमति अनुसार क्रियाशील सदस्यताको सूची अद्यावधिक हुने कार्य सकिएलगत्तै प्रमाणीकरण गरेर सूची सार्वजनिक गर्ने सहमति समेत बनेको छ । निर्वाचन समितिलाई अन्तिम सूची दिने र समितिबाटै सार्वजनिक गराउने तयारी छ । सभापति देउवाले पनि प्रतिवेदन बुझ्दै सहमति भएको सदस्यता सार्वजनिक गर्न कुनै समस्या नहुने बताएका छन् ।

अब महाधिवेशन निश्चित

क्रियाशील सदस्यतामा सहमति जुटेसँगै कांग्रेस महाधिवेशन सुनिश्चित भएको शीर्ष नेताहरूले बताएका छन् । सहमति जुटाउन सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अब सदस्यताकै कारण कुनै समस्या नहुने बताउँछन् ।

‘यो सहमतिलाई हामी सबैले आत्मसात गरेका छौं । त्यसैले अब सहमतिमा दायाँबायाँ नगरी महाधिवेशनमा होमिनुपर्छ’, सिटौलाले नेपाल प्रेससँग भने । उनले क्रियाशील बारेको सहमति ३ जना नेताको नभएर सिंगो पार्टीको सहमति भएको बताए ।

‘महाधिवेशन स्वच्छ र निष्पक्ष होस् भनेरै क्रियाशीलबारे लामो छलफल भएको हो । सहमति भइसकेपछि निष्पक्ष र पारदर्शी महाधिवेशन सम्भव हुने देखिन्छ’ सिटौलाले भने ।

क्रियाशील विवाद टुंग्याउन सक्रिय केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि महाधिवेशनको प्रक्रिया शुरू गर्न अब सहज भएको बताए । ‘क्रियाशीलकै कारण जे जे काम प्रभावित भएको थियो त्यो अब सहज हुनेछ । निर्वाचन समितिले आफ्नो कामलाई अगाडि बढाउनेछ र हामी सबै महाधिवेशन सफल बनाउन केन्द्रित हुनेछौं’, रिजालले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर