‘एक चुनाव र महाधिवेशन केपी ओलीकै नेतृत्वमा’ – Nepal Press
नेपाल टक

‘एक चुनाव र महाधिवेशन केपी ओलीकै नेतृत्वमा’

‘माधव नेपालले कि पार्टी विघटन गर्नुहुन्छ, कि एमालेलाई बुझाउनुहुन्छ’

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट बाहिरिएसँगै शंकर पोखरेलको बोझ हलुका भएको छ । अहिले उनी पार्टी राजनीतिमा केन्द्रित छन् ।

एमाले स्थायी समिति सदस्य पोखरेल अध्यक्ष केपी शर्मा ओलीनिकटका नेता हुन् । पार्टीभित्र बौद्धिक नेताको छवि उनको छ । उनी समन्वयकारी भूमिकामा पनि अब्बल छन् । मुख्यमन्त्री पदमै छँदा पनि पार्टी राजनीतिमा संकट उत्पन्न हुँदा केन्द्रमै उनको सक्रियता देखिन्थ्यो ।

नेकपा एमालेमा आएको विभाजनपछि अर्को एउटा समूह पार्टीमा रहने नरहने भन्ने अन्योलको अवस्था थियो । आज भएको वार्तापछि यो समूह एमालेमै रहने निश्चित भयो । हामीले पोखरेलसँग गरेको वार्ता आज भएको सहमतिभन्दा अगाडिको हो ।

पोखरेलले पार्टी कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् । मध्यमार्गी नेताहरूले दिएको अल्टिमेटमको अर्थ नभएको भन्दै उनले माधव नेपाल पार्टीमा रहने सम्भावना भने समाप्त भएको बताए । यद्यपि, ढिलो चाँडो नेपालले पार्टी चलाउन नसकेर विघटन गर्ने वा एमालेमा बुझाउने उनको दावी छ ।

प्रस्तुत छ, पोखरेलसँग गरिएको संवाद, नेपाल टकमा :

– नेकपा जोगाउन तपाईंहरूले गरेको पहल असफल भयो र अहिले एमाले जोगाउन पनि पहल गरिरहनुभएको छ । यो पनि सम्पूर्णरूपमा सफल त हुने भएनन् होइन ?

पार्टी एकता एउटा ऐतिहासिक र कठिन काम हो । नेपालमा रहेका वामपन्थी विचारलाई एकीकृत गर्नु जरुरी नै थियो । खासगरी एकतालगत्तै आयोजना भएका बैठक ऐतिहासिक र चुनौतीपूर्ण थिए । तर, यसमा परिणाम गम्भीर हुन्छन् । सबै काम राम्रा र उपलब्धीमूलक पनि हुँदैन ।

– अब सम्हाल्न सकिँदैन भन्ने हो ?

पछि उहाँहरूको बीचमा विवाद भए । सम्भावनाको कोसिस पनि गरिएको हो । एक हदसम्म त्यसलाई सहमतिमा ढाल्ने काम पनि भएको हो । तर, एमालेभित्रको एकतालाई खल्बल्याएर सरकार पनि कब्जा गर्ने खेल भए । त्यो एकदमै चुनौतीपूर्ण थियो । सरकार बदल्नका लागि संसद फेस गरौं र नेतृत्व परिवर्तन गर्ने हो भने महाधिवेशन फेस गरौं, त्योभन्दा बाहिर नगरौं भनिएको हो । तर, नेतृत्व परिवर्तन पनि अधिवेशन बाहिरबाट र दलको नेता परिवर्तन पनि संसदीय दलभन्दा बाहिरबाट गर्न खोजियो । यो नै सबैभन्दा प्रमुख समस्याका रूपमा देखिएको हो ।

– तत्कालीन नेकपाको कुरा गर्नुभएको हो ?

हो, नेकपाकै कुरा गरेको मैले । अर्कोतर्फ प्रचण्डका तर्फबाट ५ जना नेताका नामबाट जे अभियोगपत्र ल्याइयो, पार्टी विभाजनको आधार त्यही हो ।

भन्न त अरु पनि कारणका रूपमा भन्ने गरिएको छ । तर, पार्टी विभाजनका प्रमुख कारण ३ वटा हुन् । एउटा अधिवेशनभन्दा पहिले समीकरणबाट नेतृत्व निर्माण गर्ने, दोस्रो संसदभित्रको नेतृत्व पनि संसदीय दलबाहिरबाट गर्ने । गठबन्धन भएर विपक्षीसँग मिलेर गर्नु अनैतिक हुन्छ भन्ने हो ।

अहिले एमालेभित्र पनि जुन समस्या आएको छ नि, त्यो पनि प्रचण्डले गरेको निषेधको राजनीतिको निरन्तरता हो । त्यो सबै त्यसैको परिणाम हो । पार्टी हितविपरीतका जुन क्रियाकलाप भए, ती सबै पहिलेकै निरन्तरता हुन् ।

तेस्रो कुरा भनेको जुन अभियोगपत्र प्रचण्डबाट जारी भयो त्यो निषेधकारी हो । त्यो फिर्ता गरिनुपर्छ भन्ने हो । तर, त्यो नमानिसकेपछि समस्या आयो । पुस ५ मा संसद विघटनको समस्या आयो । अहिले एमालेभित्र पनि जुन समस्या आएको छ नि, त्यो पनि प्रचण्डले गरेको निषेधको राजनीतिको निरन्तरता हो । त्यो सबै त्यसैको परिणाम हो । पार्टी हितविपरीतका जुन क्रियाकलाप भए, ती सबै पहिलेकै निरन्तरता हुन् । षड्यन्त्रपुर्वक काम भएका थिए र भइरहेका छन् ।

– एमालेको सन्दर्भमा आउँदा फागुन २३ को जुन फैसला भयो, त्यसपछि एमालेमा नै ओली प्रवृत्तिका विरुद्ध लड्छौं भनेर माधव नेपाल पक्ष फर्किनुभयो, तर पनि किन समेट्न सक्नुभएन ?

स्वभाविकरूपमा दुईवटा नेतृत्व, एउटा प्रचण्ड र अर्को ओली नेतृत्व देखापरेको हो । हामी नवौ महाधिवेशनको राजनीतिक कार्यदिशाअनुसार अघि बढ्छौं भनेर केपी ओली अघि बढ्नुभयो ।

२८ गते नेकपा एमाले पुन:स्थापित हुँदा अब आइपर्ने जटिल समस्याका विषयमा काम अघि बढुनुपर्थ्यो । पार्टीको वैधानिकता रक्षा गरेर अघि बढ्ने भनेर २८ गते साझा धारणा बनाउन बैठक बसेको हो । त्यसपछि ८ गते बैठकको आयोजना भयो । वातावरणलाई सामान्य बनाउनका लागि चियापान पनि आयोजना गरियो । त्यसलाई पनि उहाँहरूले बहिष्कार गर्नुभयो । त्यसलाई स्वीकार गरेको भए वातावरण सामान्य हुन्थ्यो भन्ने मलाई लागेको छ ।

तर, जसरी निषेधको राजनीति प्रचण्डले अघि बढाए, त्यसलाई निरन्तरता दिने काम भयो । अहिले प्रचण्ड आफैं राष्ट्रिय राजनीतिमा समस्याको रूपमा देखिनुभएको छ । राष्ट्रिय राजनीतिमा स्थापित हुने प्रचण्डले जुन मौका पाउनुभएको थियो, त्यो गुमाउनुभएको छ । हामीले फेरि पनि मौका दिएका हौ र सुझाव पनि दिएका हौं । तर, उहाँले सक्नुभएन ।

माओवादी संगठनात्मक हिसावले अराजक भयो र प्रचण्ड एमालेका लागि फिट हुनुभएन, अडानमा रहन सक्नुभएन । महत्वाकांक्षा र अवसरवादले गर्दा उहाँलाई एमालेजस्तो सुसस्कृत पार्टीसँग तादम्यता मिलाउने वातावरण देखिएन ।

– तर, नेकपाकालमा गर्न नसकेको काम उहाँहरूले गर्नुभयो नि ? प्रचण्ड र माधवकुमार नेपालले केपी ओलीलाई सत्ताच्युत त गर्न सक्नुभयो नि ?

त्यो प्राविधिक कुरा हो । नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको छ । कहाँसम्म भन्नुहुन्छ भने अहिले यो सरकारसँग न दिशा छ न गन्तब्य छ । न जनतालाई आकर्षित गर्न सक्ने स्पष्ट कार्यक्रम छ ।

अहिले यी चिज हेर्दा केपी ओलीले साढे तीन वर्ष शासन गर्दा नेपालको सन्दर्भमा जुन प्रकारको दृष्टिकोण जनताका बीचमा ल्याएका छन्, त्यससँग उहाँहरूले सामना गर्न सक्नु हुन्छ ? नेपालको स्वाधिनता र स्वाभिमानको सन्दर्भमा भन्दा केपी ओलीले गरेका केही कामहरू ऐतिहासिक भनेर दुनियाँले स्वीकारेको छ । पहिलो, नाकाबन्दीको सामना ।

अहिले प्रचण्ड आफैं राष्ट्रिय राजनीतिमा समस्याको रूपमा देखिनुभएको छ । राष्ट्रिय राजनीतिमा स्थापित हुने प्रचण्डले जुन मौका पाउनुभएको थियो, त्यो गुमाउनुभएको छ । हामीले फेरि पनि मौका दिएका हौ र सुझाव पनि दिएका हौं । तर, उहाँले सक्नुभएन ।

दोस्रो, भारतसँग पूराना सन्धीहरूको पुनरावलोकनका लागि विज्ञ समूह गठन गरेर नेपाल पक्षको प्रतिवेदन तयार गर्नुभयो । त्यसले एउटा पृष्ठभूमि निर्माण गर्‍यो । भारत पक्षले त्यसलाई अस्वीकार गरिरहेको छ । नेपालको पोजिसन त संस्थागत भएको छ । भारतीय पक्षका प्रतिनिधि बसेर तयार गरेको डकुमेन्ट तयार गरेर लागू गर भनेर जहिल्यै पनि भन्नसक्ने अवस्थामा पुगेका छौं ।

यसरी नेपाल-भारत सम्बन्धलाई नयाँ आयाम दिने सैद्धान्तिक आधार केपी ओलीको नेतृत्वमा तयार भएको हो । अर्कोतर्फ नेपाल ‘ल्याण्ड-लक’ मुलुक रहेको अवस्थामा ‘ल्याण्ड-लिंक्ड’ मुलुकमा रूपान्तरण गर्ने कुरामा केहीं चुनौतीहरू थिए । ती चुनौतीलाई छिमेकी चीनसँगको व्यापारिक पारवाहनसँग सम्झौताका माध्यमबाट उहाँले हल गर्नुभयो । र, भारतसँगको सम्बन्धलाई उहाँले अडानका साथ सुधारतर्फ लैजान सफलता हासिल गर्नुभयो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिको सुनिश्चितता गराउनु भयो । विद्युत्त व्यापारका सन्दर्भमा नेपालको लोडसेडिङ अन्त्य गर्नका लागि झण्डै अढाइ/तीन सय मेघावट बिजुली भारतबाट प्राप्त गर्ने कुराको सुनिश्चितता गर्नुभयो ।

आज लोडसेडिङको श्रेय अरु कसैलाई दिइएको छ तर, यथार्थ कुरा चाहिँ यो हो । केपी ओलीले भारतसँग विद्युत सप्लाई सम्झौता नगरेको भए नेपालमा लोडसेडिङ अन्त्य नहुन सक्थ्यो । नेपालको विकासका लागि केपी ओलीले गरेका प्रयासले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि यति उँचो भयो कि उहाँलाई दुनियाँले सुन्ने खालको स्थिति बन्यो । त्यो चिजलाई अब कसैले चुनौती दिन सक्छ भन्ने लाग्दैन ।

अर्कोतर्फ आर्थिक-समाजिक रूपान्तरणको सन्दर्भमा ‘सुखी नेपाली समृद्ध नेपाल’ को नीतिअन्तर्गत उहाँले एक प्रकारले पूर्वधार विकासमा छलाङ लगाइदिनु भयो । आज जति परिवर्तन अघि बढेका छन्, ती चिजको परिणाम निकट भविष्यमा देखिन्छन् । चाहे त्यो चारवटा पूर्व-पश्चिम राजमार्ग, सातवटा उत्तर-दक्षिण करिडोर निर्माण, जिल्ला सदरमुकाममा डेढ ‘डेडिकेटेड’ रोड निर्माण गर्ने कुरा, काठमाडौं-निजगढ फास्ट ट्रयाकलाई तीव्रता दिने कुरा ।

विकास निर्माणमा कति प्रकारका झमेला खडा हुँदा रहेछन् भने नेपाली सेनालाई जिम्मा दिँदा पनि हामीले देखिरहेका छौं । कहिले यो नगर, कहिले त्यो नगर भनेर अनेक प्रकारका झमेला खडा गर्ने । यसका बाबजुद पनि यी निर्माणलाई अघि बढाउने कुरामा तत्कालीन सरकारले जे सफलता हासिल गरेको छ, त्यसको परिणामहरू भोलि देखिने छन् ।

केपी कमरेडसँग वैचारिक, राजनीतिक भिन्न मत रहँदा पनि सहकार्य गरेको मान्छे हुँ । जस्तै संविधानसभा तथा राज्य पुन:संरचनाका प्रश्नहरूमा केपी कामरेड र मेराबीचमा पनि असहमति थिए । त्यसका कारण केपी ओलीका अगाडि बोल्न सक्दैन भन्ने मिथक खडा गर्न खोजिएको हो । कम्युनिष्ट पार्टीभित्र बोल्न नसक्ने भन्ने कुरा हुन्छ ?

अर्को कुरा नेपालको समृद्धि हासिल गर्ने कुरामा दुईवटा चिजलाई फाउण्डेसन मान्छौं । एउटा जलविद्युतको विकास र अर्को पर्यटन क्षेत्रको विकास । नेपालले सय वर्षमा सात सय मेघावट विजुली उत्पादन गर्‍यो । दक्षिण एसियामा पहिलो बिजुली बाल्ने मुलुक नेपाल हो । तर, सय वर्षमा ७ सय मेघावटमात्रै । यो वर्षको बजेट प्रस्तुत गर्दाखेरी अर्थमन्त्रीले चालु वर्ष १ हजार मेघावाट बिजुली नेसनल ग्रिडमा जोडिनेछ भन्नुभयो । यो यही अवधिमा गरिएका प्रयासका परिणाम होइनन् ?

त्यो प्रकारको सामर्थ्य हामीले निर्माण गरेका छौं । अर्कोतर्फ, पर्यटनको क्षेत्रमा पूर्वधार विकासमा यति ठूलो लगानी निजी क्षेत्रबाट भएको छ । कोभिड-१९ का कारणले गर्दा स्वभाविकरूपले उनीहरू संकटमा छन् तर, भविष्यका लागि पर्यटन पूर्वधारको विकास त भयो नि ।

सामाजिक विकासको सन्दर्भमा कुरा गर्दा प्राविधिक शिक्षामा हामी अगाडि आएका छौं । स्वास्थ्यमा पहिले कहिल्यै नभएको लगानी भएको छ । सामाजिक क्षेत्रमा सरकारी जागिर खानेले मात्र पेन्सन पाउने व्यवस्था थियो, अहिले निजी क्षेत्रकाले पनि खान पाउँछन् । यद्यपि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी ढंगले लागू गर्ने काम भने बाँकी नै छ ।

वैदेशिक रोजगारमा यति अनियमितता थियो कि ठूलो संख्यामा नेपाली बाहिर जान्थे, तर रेमिट्यान्स कमी आउथ्यो । अहिले नेपाली कम गएका छन् तर, रेमिट्यान्स बढेको छ । यसो किन भयो भन्दा, त्यहाँभित्रको अनियमिततालाई नियन्त्रण गर्ने काम सरकारले गर्‍यो ।

निर्माणका क्षेत्रमा भइरहेका कामहरूमा ढिलासुस्ती थियो । त्यसलाई तिब्रता दिने काम गरियो । जसका कारणले गर्दा एक वर्षमा झण्डै तीन/चार हजार किलोमिटर सडक निर्माण भयो । यी चिजलाई जनताले बुझेका छन् । यसले म के भन्छु भन्दा अहिलेको नेपालको राजनीति केपी ओलीको एजेण्डामा विभाजित छ र अहिलेको गठबन्धन केपी ओलीको विरोधी गठबन्धन हो । दुनियाँमा कहीँ यस्तो हुन्छ सत्ताका विरुद्धमा गठबन्धन बन्ने ? योभन्दा वेहत्तर परिणामा ल्याउन सक्ने गठवन्धन निर्माण गर्लान् ?

– हामी एक्लै पनि अघि बढ्छौं भन्दा यो पार्टी पनि फुट्यो । दल दर्ताको निवेदन गएको छ । यो गठबन्धन अर्को चुनावसम्म जाने भनेपछि त तपाईंहरूलाई त ठूलो क्षति हुने भयो नि ?

पार्टीभित्र केही नेता आउने-जाने भइरहन्छ । अर्को कुरा, चुनावको परिणामलाई नेतृत्वले तात्विक अर्थ राख्छ भन्ने म मान्दिन । महाधिवेशनका सन्दर्भमा माधवकुमार नेपाल झण्डै हाराहारीको नेता हुनुहुन्थ्यो । तर, अहिले के अवस्था भयो संसदीय मूल्य मान्यतालाई लत्याएर दल विभाजन गर्ने संख्या २० प्रतिशतमा झारेको छ । २० प्रतिशतमा पनि जोखिमपूर्ण छ भन्ने बहस चलेको छ ।

भन्दाखेरी त यो विभाजन त एकप्रकारको षड्यन्त्रपूर्ण छ । यही अध्यादेश सँधै कायम राख्ने हो भने नेपाली कांग्रेसमा के होला ? माओवादीको भविष्य के होला ? म त के ठान्छु भन्दा उहाँहरूले हामीलाई विभाजन गर्नका लागि ल्याउनुभएको छ, तर, आफ्ना लागि समस्या उत्पन्न हुने भयो भन्ने लागेपछि फिर्ता लगिहाल्नु हुन्छ । किनकी यो षड्यन्त्रमा आएको चिज न हो । यो कुनै लोकतान्त्रिक विधिबाट आएको चिज होइन ।

जेठ २ भित्रको नेकपा संरचनामा जाने भनेर केन्द्रीय कमिटीले निर्णय गरेका छौ । त्यही मान्यता स्थानीय तहमा पनि कार्यान्वयन हुनसक्छ । कसको हकमा कार्यान्वयन हुन्छ भने जो माधव नेपाललाई छोडेर आउनु हुन्छ । माधव नेपालसँग जानेको हकमा त त्यो नीति त लागू हुँदैन नि हुन्छ र ?

षड्यन्त्रमा केपी ओली वा नेकपा एमालेको विरुद्धमा काम भइरहेको छ भन्ने जनताले बुझेका छैनन् ? जनताले त हेरिरहेका छन् कस्तो प्रकारको षड्यन्त्रपूर्वक केपी ओलीको विस्थापन गरियो भन्ने कुरा । अर्को प्रकारले अदालतको परामदेशबाट प्रधानमन्त्री नियुक्ति गर्ने कुरा, अध्यादेशबाट २० प्रतिशतले दल विभाजन गर्ने कुरा यी सबै कुरा नेपाली जनताले बुझेका छन् ।

– झण्डै दुईतिहाइको सरकार पनि रहेन । पार्टी पनि रहेन । बाँकी रहेको एमाले थियो त्यही पनि तपाईंहरूले जोगाउन सक्नुभएन भन्ने प्रश्न आमजनतामा छ नि ?

आन्दोलन मुख्य प्रश्न हो । आन्दोलन जोगिन्छ-जोगिँदैन भन्ने कुरा पहिलो प्रश्न हो । हामी त चुनावमा जाउँ भनेरै कस्सिएका हौं । नेकपा विभाजित हुँदै चुनावमा जाउँ भनेका हौं । अहिले त थुप्रै साथीहरू फर्किदै हुनुहुन्छ । अहिले त हामी धेरै सुदृढ भइसकेका र्छौं । हिजो भ्रममा रहेका साथीहरू पनि फर्किँदै हुनुहुन्छ । हिजोको जस्तो अवस्था अहिले छैन ।

– माधव नेपाललाई तपाईंहरूले राख्न नचाहेको कि उहाँ बस्न नचाहेको ?

माधव नेपालकै सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमति गर्‍यो । उक्त १० बुँदे सहमतिपत्र कार्यान्वयनमा पनि गइसकेको छ । भीम रावल र सुवासचन्द्र नेम्वाङलाई १० बुँदे सहमतिका लागि अध्यक्षसमक्ष सुझाव प्रस्तुत गर्ने र बैठक बोलाउने जिम्मा लगाएको हो । निर्णय के गर्ने भन्ने प्रस्ताव रावलजी आफैले गर्नुभएको थियो । त्यो प्रस्तावप्रति माधवजीको असहमति रहेपछि विषयवस्तु लम्विएको हो । त्यसप्रति पार्टी अध्यक्षले असहमति त राखेको होइन नी ।

केही साथीहरू केपी ओलीले १० बुँदे मान्न तयार हुनुहुन्छ कि हुन्न भनेर प्रश्न गर्न खोज्दै हुनुहुन्छ । मानेको मान्छेसँग प्रश्न गर्ने तर जसले नमानेर पार्टी फुटाइ नै सक्यो उसको बारेमा प्रश्न नगर्नु लाचारी होइन र ?

– माधव नेपालले चाँही के भन्नुभयो ?

उहाँले भन्नुहुन्छ १० बुँदेप्रति मेरो सहमति छैन ।

– तपाईंहरूले भेट्दा पनि ? .

कार्यदलभन्दा अरु कसैमाथि उहाँको भरोसा रह्यो ।

– अरु कसै भन्नाले ?

त्यो त उहाँले बताउनुहोला । अन्यत्र पनि छलफल चलिरहेको छ, हेरौं भन्नुभयो । हामी प्रत्यक्ष भेटेर छलफलमा जाँदा पनि उहाँले अदृष्य छलफलमा बढी रुची राख्नुभयो । त्यतिको नेतालाई हामीसँग छलफल गर्न किन रुची भएन त्यो फेरि हामीले सोध्ने कुरा पनि आएन ।

– समान हैसियतको अध्यक्ष पाउनुपर्ने उहाँको माग थियो ?

त्यो त सम्भव थिएन । नहुने कुराको पछाडि लाग्नुको कुनै पनि अर्थ पनि छैन । दुईवटा पार्टीका फरक-फरक नेताहरू हुँदा हामीले त्यो प्रयोग गर्‍यौं, जुन सफल भएन । एउटै पार्टीभित्र दुई अध्यक्षको कुरा चाहीँ हामीले सोच्न पनि सक्दैनौं ।

– एमाले जोगाउनलाई त्यति गर्न सकिन्न थियो र ?

अध्यक्षले त भनेकै हो । तर, उहाँ (नेपाल) त्यसमा पनि सहमत हुनुभएन । उहाँ त्यसमा पनि आउन चाहनुभएन । दुई नेताबीच भेट गराउने प्रयास गरियो । तर, उहाँ भेट्न पनि तयार हुनुभएन ।

पार्टी अध्यक्षले माधव नेपाललाई पटक-पटक भेट तथा फोन गर्दा पनि उहाँ कहिले भेट्न तथा फोन गर्न आउनुभएन । माधव नेपालमात्रै होइन, प्रचण्ड समेतलाई पटक-पटक भेट गर्न अध्यक्ष जानु भएको छ । जति प्रयास गर्दा पनि उहाँहरू तयार हुनुभएन ।

केपी शर्मा ओलीलाई उहाँहरूले हठी मान्छेको रूपमा चित्रित गर्नुभयो । हो, उहाँ स्पष्ट बोल्नुहुन्छ । तर पार्टी, आन्दोलन र लोकतन्त्रका लागि उहाँ जति उदार र लचिलो मान्छे अरु छैन भन्ने कुरा उहाँहरू किन बुझ्नु हुन्न ?

– माधव नेपालसँग जोडिएका नेताहरूले जति फरक मत राखेर अगाडि बढ्नुभयो, त्यति चाहीँ तपाईहरूले केपी ओलीसँग सक्नुहुन्न भन्ने छ नि ?

त्यो पनि भ्रमपूर्ण कुरा हो । केपी कमरेडसँग वैचारिक, राजनीतिक भिन्न मत रहँदा पनि सहकार्य गरेको मान्छे हुँ । जस्तै संविधानसभा तथा राज्य पुन:संरचनाका प्रश्नहरूमा केपी कामरेड र मेराबीचमा पनि असहमति थिए । त्यसका कारण केपी ओलीका अगाडि बोल्न सक्दैन भन्ने मिथक खडा गर्न खोजिएको हो । कम्युनिष्ट पार्टीभित्र बोल्न नसक्ने भन्ने कुरा हुन्छ ?

– आलोचक चाहीँ राख्दै नराख्ने केपी ओलीको नीति हो ?

त्यस्तो हुँदै होइन । हामी आफैं उहाँका कार्यशैली, कमिकमजोरीका सन्दर्भमा निरन्तररूपमा छलफल तथा आलोचना गर्छौं ।

एमाले विभाजन भयो, तर दृष्य फरक देखियो । माधव नेपालले भरोसा गरेका स्थायी कमिटी सदस्यहरू माधव नेपालसँग जानुभएन । तर, उहाँहरू एमालेको नियमित बैठकमा पनि हुनुहुन्न । उहाँहरू अर्कै भेला गरिरहनुभएको छ । उहाँहरूको १० बुँदे सहमतिको अक्षरशः पालना र माधव नेपाल लगायतका १४ जना माथिको कारवाहीको फिर्ता लिनुपर्ने माग छ । यी दुई वटा माग केपी शर्मा ओलीले पूरा गर्न तयार हुनुहुन्छ ?

कारवाही हामीले एकपटक मात्रै होइन पटक-पटक फिर्ता गरिसकेका छौं । योपटक निर्वाचन आयोगमा गएर दल नै दर्ता गरिसकेपछि स्वतः उहाँहरू अलग्गिनुभएको छ । अब फेरि कारवाही फिर्ता गर्ने भन्ने विषयको कुनै अर्थ छ भन्ने मलाई लाग्दैन ।

माधव नेपालसँग गएका व्यक्तिहरू फर्केर आउनु भयो भने उहाँहरूलाई पुनःस्थापित गर्न सकिन्छ । तर, अहिलेको परिस्थितिमा उहाँहरू दल दर्ता गर्ने अनि हामीले कारवाही फिर्ता गर्ने कुरा सम्भव छैन ।

– उहाँहरूले मंगलबारसम्मको समय दिनुभएको छ नि ?

त्यसको कुनै अर्थ छैन । १० बुँदे सहमति भनेको उहाँहरूले मात्रै गरेको होइन नी । त्यसलाई पार्टीले नीतिगतरूपमा आत्मसात गरिसकेकै छ । त्यो १० बुँदे सहमति त हामी सबैको हो नि । त्यसैले साथीहरूले बाहिर बसेर १० बुँदे भनेर कराउनुको कुनै अर्थ छैन । १० बुँदे कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ । उहाँहरू आएर पार्टीको काममा जुट्नुपर्छ । जहाँ असहमति हुन्छ त्यहाँ कार्यदल बनाएर अगाडि बढ्नुपर्छ । त्यो त १० बुँदेमा नै लेखेकै छ त ।

– १० बुँदे पालना नगर्ने हो भने उहाँहरू विद्रोह गर्ने भन्नुभएको छ नि ?

माधव नेपालजतिको नेताले नै विद्रोह गरेपछि राजनीतिक आन्दोलनमा उहाँहरूले पनि विद्रोह गर्न नपाउने भन्ने कुरा छैन । तर, त्यो १० बुँदे उहाँहरू ५ जनाले गरेको होइन, सबैजनाले गरेको हो । त्यो १० बुँदेको उद्देश्य माधव नेपालसहितको असन्तुष्ट समूहलाई सम्बोधन गर्ने भन्ने थियो । तर, उहाँ त हिँडिसक्नुभयो । अरु साथीहरू पार्टीको काममा फर्कने मुख्य आधार जेठ २ मा फर्कने भन्ने हो । जेठ २ भित्रको नेकपा संरचनामा जाने भनेर केन्द्रीय कमिटीले निर्णय गरेका छौ । त्यही मान्यता स्थानीय तहमा पनि कार्यान्वयन हुनसक्छ । कसको हकमा कार्यान्वयन हुन्छ भने जो माधव नेपाललाई छोडेर आउनु हुन्छ । माधव नेपालसँग जानेको हकमा त त्यो नीति त लागू हुँदैन नि हुन्छ र ?

– १० बुँदे सहमति पार्टीले मानिसकेको भनेर तपाईं भन्दै हुनुहुन्छ । अब माधव नेपालसँग नगइ कोही पार्टीमा फर्कन्छ भने उसले पार्टीको गतिविधि गर्न पाउँछ त ? अहिले फेरि १० बुँदेको सर्त चाहीँ कसरी बन्यो त ?

त्यो त उहाँहरूसँग कुराकानी भइरहेको छ । साथीहरूको मनमा कुनै द्विविधाहरू छन् भने नेतृत्वसँग बस्ने र हल गर्ने । यो बाहिर बसेर कुरा गर्ने विषय नै होइन । पार्टीमा बसेर छलफल गरेर टुङ्याउने विषय हो । यो साझा समस्या हो । यो पार्टीबाहिर बस्नु भएका साथीहरूको अलग समस्या होइन ।

फेरि कार्यदल भनेको उहाँहरू मात्रै हुनुहुन्न नी । कार्यदलमा हामी पनि त छौ । यो विषय उहाँहरूको मात्रै हुन्थ्यो भने त माधव नेपालले मान्नुहुन्थ्यो होला नी ।

– अब १० बुँदे कार्यान्वयनका सन्दर्भमा हिजो माधव नेपालले पठाएका सदस्यहरूको आशय के हो त ?

कार्यदलका तर्फबाट जे सहमति भएको छ, त्यो केन्द्रीय कमिटीले पनि ग्रहण गरिसकेको छ । जो पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा छ, उसका लागि त केही पनि समस्या छैन । बाँकी रहेको सन्दर्भका बारेमा त्यही १० बुँदे हो भने त समस्या केही पनि छैन । त्यसलाई लागू गर्ने भनेको छ । जहाँसम्म माधव नेपालसँग सम्बन्धित विषय छ, त्यो क्लोज नै भइहाल्यो । उहाँहरू अलग पार्टीमा गइसक्नुभयो । अब के समस्या छ र ?

– जेठ २ अघि जो-जो जुन पदमा थिए, अब त्यसैमा क्रियाशील हुन्छन् ?

माधव नेपाललाई छाडेर आउनेका हकमा पहिलेकै अवस्थामा फर्किन्छ । तर दुवैतिर त बस्न पाइँदैन ।

– माधव नेपालका लागि अहिले आश मारियो ?

दल त्याग गरिसकेपछि त्यो सम्भव नै छैन । माधव नेपालले जुन दिन गल्ती महसुस गर्नुहुने छ, पार्टी चलाउन सकिएन भनेर विघटन गर्नुहोला वा पार्टी ल्याएर एमालेलाई बुझाइदिनु होला ।

– त्यो कसरी सम्भव छ ? अहिले त माधव नेपाल महागठबन्धनमा हुनुहुन्छ नि ?

अहिले त उहाँलाई फुलमालाले स्वागत गर्ने पंक्ति ठूलै हुन्छ । जुन बेला औपचारिकरूपमा पार्टी विभाजन गर्ने काम शुरू गर्नुहुन्छ, त्यसपछि उहाँको हालत के हुन्छ भन्ने थाहा हुन्छ । उहाँ आफैंले व्यहोर्नुहुन्छ ।

– अहिले माधव नेपालसँग पनि नरहेका र छुट्टै भेला शुरू गरेकाहरू अब एक हुन्छन् ?

त्यही उहाँहरूको हितमा हुन्छ । हामीले सामूहिकरूपमा निर्माण गरेको पार्टी हो । अब पनि उहाँहरू पार्टी निर्माणमा जुट्नु हुन्छ । मैले जतिसँग कुरा गरेको छु, उहाँहरूको अन्यत्र जाने मनशाय नभएको बुझेको छु ।

– माधव नेपाल आएपछि केपी ओलीलाई चुनौती दिने कोही हुँदैन भन्ने डर पनि होला नि ?

त्यस्तो हुँदैन । हामीले प्रणालीको विकास गरेका छौं । सामूहिक हितका लागि अगाडि बढ्नुपर्‍यो । एक-दुई जनालाई के लागेको छ भनेर पार्टी त्यसको पछाडि त हिँड्नु भएन ।

– अब एक चुनाव र एक महाधिवेशन केपी ओलिको नेतृत्वमा नै जाने हो ?

मेरो विचारमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भर्सेस गठबन्धन भएको बेला अहिलेको नेतृत्वलाई नै अगाडि सारेर जनताको बीचमा जानु राम्रो हुन्छ जस्तो लाग्छ । यही पार्टीको हित र राष्ट्रको हितमा हुन्छ भन्ने लाग्छ ।

तर यो विषयमा निर्णय पार्टी कमिटी र महाधिवेशनले गर्छ ।

– अहिले केन्द्रमा आएर नै राजनीति गरिरहनुभएको छ । एमालेलाई कति संकटमा देख्नुहुन्छ ?

जनमतको कुरा गर्ने हो भने पुस ५ पछि नै राष्ट्रव्यापीरूपमा जनताको माझमा गएर पार्टी निर्माण गरिसकेका छौं । अहिले संरचनात्मक रूपमा देखिएको समस्यामात्रै हो । त्यो पनि मिलाए नै अगाडि बढ्छौं ।

– फुटेको एमालेलाई आउने चुनावपछि ठूलो पार्टी भएर आउने आश छ ?

हामी आन्दोलनको हिसावले नेपालको पहिलो शक्ति हो । हामी कसरी कमजोर भएका छौं ? हो हामीमा संरचानात्मकरूपमा केही कमी भएका होलान् । त्यसलाई मिलाएर लैजान्छौं । २० प्रतिशतभन्दा तलको फुट छ यहाँ ।

– २० प्रतिशतले पनि चुनाव हराउन त काफी हुन्छ भन्छन् नि ? माधव नेपालसँग आएकाहरूलाई अर्कोपटक चुनावमा जिताउछौं भनेका छन् उता फेरि होइन र ?

चुनावमा जनताको बीच जाँदा सबै थाहा हुन्छ । २ महिनापछि नै थाहा हुन्छ ।

चुनाव जित्न परको कुरा हो । सरकार र पार्टीलाई असहयोग गरेकाहरूलाई जमानत नै जोगाउन मुश्किल हुन्छ । केही भोट ल्याउनेछन्, तर चुनाव जित्न सक्दैनन् ।

चुनाव जित्नका लागि जनताले राजनीतिक मूल्य र मान्यता खोज्छन् भन्ने कुरा बुझनु पर्‍यो नि । कांग्रेसको ब्यानरमा चुनावमा उठेर जितिँदैन ।

– केन्द्रदेखि प्रदेशसम्म करिब सबै सरकार उनीहरूले बनाइसकेका छन् । कांग्रेस र माओवादी सबैले सहयोग गरेपछि त जित्न सहज होला नि ?

त्यो त प्राविधिक कुरा हो । हामी एउटा जनमतबाट आएका शक्तिलाई विभाजन गरेका छन् । त्यसैले गर्दा सरकार ढल्नु र बन्नु कुनै ठूलो कुरा हैन ।

लुम्बिनीमा नै हेर्ने हो भने पनि एकजनाले गर्दा सरकार परिवर्तन भएको हो । एमालेले चुनाव पहिले बहुमत ल्याएको र अहिले गुमाएको हो र ? लुम्बिनी र गण्डकीमा एमाले एकल बहुमतमा थिएन । त्यहाँ गठबन्धनले गर्दा सरकार परिवर्तन भएको हो । जनताको विश्वास गुमाएको हैन । हामीले गठबन्धनलाई नै सामना गरेर अभुतपूर्व मत ल्याएर सरकारमा जान्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर