गृहमन्त्रीले संसदमा मागेका थिए १० दिन, २१ दिनसम्म आएन प्रतिवेदन – Nepal Press
महाकाली तुइन प्रकरण :

गृहमन्त्रीले संसदमा मागेका थिए १० दिन, २१ दिनसम्म आएन प्रतिवेदन

काठमाडौं । गत साउन १८ गते राष्ट्रियसभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले भने- ‘दार्चुला घटना संवेदनशील छ र यसमा छानविन समितिले काम गरिरहेको छ । छानविन प्रभावित हुनेगरी हामीले राय दिन मिलेन । छानविनबाट आएको निष्कर्षमा हामी जुनसुकै अडान लिन तयार छौं ।’

दार्चुलामा तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीबारे राष्ट्रियसभामा सांसदहरूले चर्को आवाज उठाएका थिए । भारतीय एसएसबीले तुइन काटिदिदा धामी वेपत्ता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारले भारतसँग वार्ता गर्नुपर्ने बताएका थिए ।

भोलिपल्ट प्रतिनिधिसभाको बैठकमा पनि दार्चुला घटनाबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराए । जवाफमा गृहमन्त्री अघिल्लो दिनकै कुरा दोहोर्‍याए । ‘प्रतिवेदन आएपछि मात्रै अन्तिम निष्कर्षमा पुग्न सकिन्छ । प्रतिवेदन नआउँदासम्म मृतक पनि भन्न मिल्दै । सत्य र तथ्यको आधारशीलामा नै प्रतिवेदन आउने हो । यसमा सरकारले पूर्णरूपमा अडान लिनेछ र जुनसुकै कदम चाल्न सरकार तयार छ’, खाणले भनेका थिए ।

संसदमा उभिएर विपक्षी सांसदहरूलाई १० दिनभित्र प्रतिवेदन आउँछ भनेर गृहमन्त्रीले प्रतिबद्धता गरेकै आज तीन साता बितिसकेको छ । तर, दार्चुला घटनाको प्रतिवेदन गृहमन्त्रालयले नै पाइसकेको छैन । गृहमन्त्रालयले गठन गरेको छानविन समितिले अझै काम सकेको छैन । साउन १७ गते गृह मन्त्रालयले सह सचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो । १० दिनमा प्रतिवेदन नै बुझाउने जिम्मा पाएको समिति साउन १९ गते नै स्थलगत अनुसन्धानका लागि दार्चुला पुगेको थियो । दार्चुलाबाट फर्किसके पनि समितिले प्रतिवेदन बुझाइसकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल भदौ ९ गतेभित्र समितिले प्रतिवेदन बुझाउने बताउँछन् । ‘छानविन समितिको म्याद भदौ ९ गतेसम्म थपिएको छ । त्यो दिनसम्म प्रतिवेदन बुझाउनुहुन्छ होला’, पोखरेलले नेपाल प्रेससँग भने । संसदमा दार्चुला घटनाबारे संसदीय छानविन समिति बनाउन एमालेको प्रस्ताव थियो । सो प्रस्ताव अस्वीकार गरेको सरकारले १० दिनको समय मागेर ३ सातासम्म प्रतिवेदनसमेत नल्याउँदा आशंका बढेको छ । ‘संसदीय समिति पनि नबनाउने, संसदमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ पनि नदिने अनि यति गम्भीर विषयमा छानविन नटुंग्याएर म्याद थपिरहने कामले सरकार गम्भीर छैन भन्ने प्रष्ट हुन्छ’, एक एमाले सांसदले भने ।

सरकारले अहिले संसदको अधिवेशन अन्त्य गरेको छ । एमाले विभाजनतिर प्रमुख दलहरूको ध्यानाकर्षण भइरहेको बेला दार्चुला घटना भने ओझेलमा पर्ने देखिएको छ । छानविन टुंग्याउन भइरहेको विलम्बप्रति गृहमन्त्री खाण उदासीन देखिन्छ । त्यसैले विपक्षी सांसदहरूको उनलाई प्रश्न छ- गृहमन्त्रीज्यू, १० दिन अझै सकिएन र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *