‘१० बुँदे कार्यान्वयनमा जान्छ, माधव नेपालसँग नजाने सबै जेठ २ अघिकै जिम्मेवारीमा फर्किन्छन्’ – Nepal Press

‘१० बुँदे कार्यान्वयनमा जान्छ, माधव नेपालसँग नजाने सबै जेठ २ अघिकै जिम्मेवारीमा फर्किन्छन्’

भीम रावल र सुवास नेम्वाङले अध्यक्ष र महासचिवलाई भेटेर बैठकको कार्यसूची बनाए हुन्छ

काठमाडौं । नेकपा एमालेका नेता तथा विघटित वार्ता टोलीका सदस्य शंकर पोखरेलले असार २७ को १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र विभाजनमा नगएका नेताहरूसहितको स्थायी कमिटी बैठक बसेर त्यसलाई कार्यान्वयनमा लगिने बताएका छन् ।

विघटित वार्ता टोलीका माधव नेपालपक्षीय संयोजक भीम रावलसहितका केन्द्रीय सदस्य र सांसदहरूको शुक्रबारको भेलाले १० बुँदे सहमति अक्षरस: पालना गराउन अध्यक्ष ओलीलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो ।

भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूसँग संवादमा रहेका पोखरेलले १० बुँदे सहमति कार्यन्वयन शुरू भइसकेकाले अब अल्टिमेटमको औचित्य नरहेको बताए । साथै यो समूहले माधव नेपालमाथिको कारवाही फिर्ता लिन गरेको आग्रहको भने औचित्य सकिएको उनले बताए ।

नेपाल प्रेससँगको भिडियो अन्तर्वार्ताका क्रममा नेता पोखरेलले १० बुँदे सहमति कार्यान्वयनका क्रममा जहाँ समस्या पर्छ त्यसको समाधानका लागि कार्यदल बनाइने बताए । माधव नेपालले एमालेबाट अलग भएर अर्को पार्टी बनाइसकेकाले कारवाही फिर्ताको औचित्य नरहेको उनको भनाइ छ ।

नेता पोखरेलले माधव नेपालसँगै पार्टी विभाजनमा नगएका तर पार्टी नेतृत्वसँग पनि १० बुँदे कार्यान्वयनको सर्त राखिरहेका नेताहरूमा संकोच रहेको बताए । उनले लामो समय अलग गतिविधि गरेका कारण संकोच रहे पनि संकोच मेटाउन पार्टीले सबै प्रक्रिया पूरा गर्ने बताए ।

उनले भने, ‘उहाँहरू बैठकमा आउन संकोच मान्नु पर्दैन । त्यस्तो छ भने भीम रावल र सुवास नेम्वाङलाई जिम्मा दिएकै छौं । उहाँहरूले अध्यक्ष र महासचिवलाई भेट्नुस, बैठकको कार्यसूची तयार पारौं र स्थायी कमिटीको बैठक बसौं । यसमा समस्या कार्यन्वयनको होइन, संकोच हो । त्यो पनि हामी कुराकानी गरेर मिलाउँदैछौं ।’

पोखरेलले प्रचण्ड र माधव नेपालका कारण तत्कालीन नेकपा विभाजन भएको र प्रचण्डकै कारण माधव नेपालले पार्टी विभाजन गरेको बताए । उनले माधव नेपालको उद्देश्य नै प्रचण्डको योजनाबमोजिम एमाले कब्जा गर्ने र नसके विद्रोह गर्ने भन्ने रहेकाले अहिले सानो समूह लिएर बाहिरिएको बताए ।

पोखरेलले माधव नेपालसँग नगएका र पार्टीको नियमित गतिबिधिमा पनि नरहेका नेता कार्यकर्ताहरू सबैका गुनासाहरू सम्बोधन हुने र सबैले २०७५ जेठ २ अघिको जिम्मेवारी पाउने बताए । नेकपा एकताको निरन्तरतामा रहेका पूर्वमाओवादीहरूको पनि जिम्मेवारी यथावत हुने उनले बताए ।

पोखरेलले १० बुँदे सहमति कार्यान्वयनका लागि माधव नेपाल छाडेका नेताहरू बैठकमा आउनु पर्ने भन्दै फेरि पनि सर्त राखेर समानान्तर गतिविधि गर्न भने छुट नभएको बताए ।

प्रचण्ड राष्ट्रकै समस्या भएको भन्दै उनले केपी ओलीविरुद्ध बनाइएको सत्तारुढ महागठबन्धनले एमालेलाई केही गर्न नसक्ने बरु एमाले उनीहरू सबैको सामना गरेर श्रेष्ठ बन्ने पोखरेलको दावी छ ।

(पोखरेलसँगको भिडियो अन्तर्वार्ता आजै साँझ नेपाल प्रेसको फेसबुक र होमपेजमा प्रसारण हुनेछ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर