चोटका कारण नाडालले युएस ओपन गुमाउने – Nepal Press

चोटका कारण नाडालले युएस ओपन गुमाउने

काठमाडौं । राफेल नाडालले खुट्टामा लागेको चोटका कारण आफ्नो सिजन समाप्त भएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनमा पनि उनी अनुपस्थित हुने निश्चित भएको छ ।

२० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले चोटकै कारण गत साता सिनिसनाटी मास्टर्स र क्यानडियन ओपन गुमाएका थिए ।

युएस ओपनमा साविक विजेता डोमिनिक थिम र पाँच पटकका च्याम्पियन रोजर फेडेरर पनि यो वर्ष अनुपस्थित हुने निश्चित भइसकेको छ ।

चार पटकका च्याम्पियनसमेत रहेका ३५ वर्षीय नाडालले इन्स्टाग्राममा लेखेका छन्- ‘साँच्चै, म खुट्टामा लागेको चोटका कारण खराब अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले मैले ठीक हुनका लागि समय दिनुपर्छ । मैले परिवार र टिमसँग छलफल गरेर निर्णय लिएको हुँ ।’

नाडालले फ्रेन्च ओपन यता विम्बल्डन र ओलम्पिक पनि चोटका कारण गुमाएका थिए । जुनमा भएको फ्रेन्च ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएसँगै नाडाल २०१६ पछि पहिलो पटक उपाधि रक्षा गर्न असफल रहेका थिए ।

वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *