समकक्षतामा त्रिविको झेलः ११० देशमा मान्य प्रमाणपत्र नेपालमा अमान्य, ५ सय विद्यार्थी विचल्लीमा – Nepal Press

समकक्षतामा त्रिविको झेलः ११० देशमा मान्य प्रमाणपत्र नेपालमा अमान्य, ५ सय विद्यार्थी विचल्लीमा

काठमाडौं । पाँच वर्षअघि सवनम पालको खुशीको सीमा थिएन, जब उनी मुलुकभरबाट सीए पढ्नका लागि भएको ६ महिने फाउन्डेसन तहमा सबैभन्दा बढी ९२ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएकी भइन् । तर उनको त्यो खुसी लामो समय टिक्न सकेन ।

रौतहटको बृन्दावन नगरपालिका–८ स्थायी घर भएकी सवनमले करिव १० वर्षअघि अर्थात् सन् २०१२ मा काठमाडौंको मैतीदेवीमा रहेको युनिभर्सल कलेजबाट विज्ञान संकायमा प्लस टू पास गरेकी हुन् । प्लस टु सक्नेवित्तिकै उनले सीए पढ्नका लागि तयारी गरिन् र फाउण्डेसन तहमा सर्वोत्कृष्ट हुँदै सन् २०१६ मा सीए पढ्न भारतको राजधानी दिल्ली लागिन् ।

धेरैले लामो समय लगाएर पनि सीए उत्तीर्ण गर्न सकिरहेका हुँदैनन् । सवनमले भने तीन वर्षमा नै सीए उत्तीर्ण गरिन् । सीए गर्दैगर्दा उनले सन् २०१८ मा नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट वाणिज्य संकायमा स्नातक अर्थात बिकम पनि पास गर्न भ्याएकी थिइन् । उनी भारतमा नै यसै क्षेत्रमा एक वर्ष अनुभव बटुलेर सन् २०२० मा नेपाल फर्किइन् ।

नेपाल आएको एक–दुई दिनमा नै उनी समकक्षता निर्धारण गर्न त्रिभुवन विश्वविद्यालयको पाठयक्रम विकास केन्द्रमा पुगिन् । किर्तिपुरमा रहेको पाठ्क्रम विकास केन्द्रको झ्यालबाट उनले समकक्षता निर्धारणका लागि निवेदनसहित प्रमाणपत्र धकेलिन् भित्र । तर झ्यालबाट कर्मचारीले जवाफ दिए, ‘यसमा समकक्षता निर्धारण गर्न मिल्दैन ।’

सीए व्यवसायिक भएकाले र बीकमको खुला विश्वविद्यालय भएकाले समकक्षता गर्न नसकिने कर्मचारीको भनाइ थियो ।

यस्तो जवाफ पाएपछि उनले कर्मचारीलाई प्रश्न गरिन्, ‘यस बारेमा त कुनै आधिकारीक सूचना सार्वजनिक भएको छैन । हामीलाई जानकारी पनि दिइएको छैन । के कारणले मिल्दैन ?’

कर्मचारीले जवाफ दिए, ‘यसमा हामीलाई अरु केही पनि थाहा छैन, माथिबाट नै रोक्न भनिएको छ । जवसम्म माथीबाट आदेश आउँदैन तबसम्म समकक्षता निर्धारण हुँदैन । तपाई फर्किनुभए हुन्छ ।’

यति जवाफ पाएपछि उनी निराश हुँदै घर फर्किइन् । त्यसपछि साथीहरुसँग बुझ्दा उनीहरुले आफुहरुले पनि नपाएको सुनाएपछि मन बुझाएर बसिन् ।

हाल शान्तिनगरमा बस्दै आएकी सवनम दराज अनलाईनको लेखा फाँटमा काम गर्छिन् ।

उनी दुखेसो सुनाउँदै भन्छिन्, ‘अहिले कुनै पनि राम्रो बैंकमा काम गर्नका लागि गयो भने सीए र स्नातक गरेको माग्छ । तर, मैले दुवै गरेर पनि नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाउन सकिनँ ।’

समकक्षता गर्न नसक्दा स्नातकोत्तर पनि पढ्न पनि नपाइने भएपछि उनी नेपाल कमर्श क्याम्पसमा स्नातक तह प्रथम वर्षमा एक वर्षअघि भर्ना भएकी छन् ।

०००

अर्जुनधारा नगरपालिका–३, झापाका पुनम कटवाल काठमाडौंको सितापाइला बस्छिन् । काठमाडौं मोडल कलेजबाट नौ वर्षअघि व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरिन् उनले । काठमाडौंमै रहेको प्राइम कलेजबाट सीएको ६ महिने फाउन्डेसन तह उत्र्तिण गरेर २०१३ मा सीए पढ्न भारतको राजधानी नयाँ दिल्ली पुगिन् ।

उनले अहिलेसम्म सीए उत्तीर्ण गर्न नसके पनि २०१५ मा भारतमा रहेको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट तीन वर्षे स्नातक अर्थात बिकम गरिन् । २०१५ मा नै बिकम भ्याए पनि तीन वर्षे तालिम लिन थालेका कारण उनी त्यतिबेला नेपाल फर्किन पाइनन् । तर बिकम उत्तीर्ण गरेको चार वर्षपछि २०१९ मा नेपाल फर्किइन ।

नेपाल फर्किपछि उनले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गर्नुपर्ने भयो । त्यसका लागि उनी पुगिन् किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र ।

समकक्षता निर्धारणका लागि उनले निवेदनसहित प्रमाणपत्र पेश गरेपछि केन्द्रका कर्मचारी भने, ‘अहिले तपाईंहरुलाई समकक्षता निर्धारण गर्न रोकेको छ । माथिबाट निर्णय नभएसम्म हामीले दिन सक्दैनौ ।’

त्यसपछि चुपचाप घर फर्केकी दोस्रोपटक पनि पाठ्यक्रम विकास केन्द्रमा पगिन् । दोस्रोपटक पनि उस्तै जवाफ पाएर फर्किइन् ।

राजधानी काठमाडौंको एउटा सीए फर्ममा काम गरिरहेकी पुनमले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता निर्धारण नगरिदिँदा नेपालमै स्नातकोत्तर तह उत्तीर्ण गर्ने उनको योजना अधुरै रहेको छ ।

उनी दुखेसो गर्दै सुनाउँछिन्, ‘अहिले जुनसुकै रोजगारी गरौं भने पनि कम्तिमा स्नातक उत्तीर्ण गरेको हुनैपर्छ । राम्रो रोजगारीका लागि त स्नातकोत्तरकै प्रमाणपत्र खोजिन्छ । तर मेरो त सीएसँगै मास्टर्स गर्ने योजना पनि अपूरो रह्यो ।’

उनी थप्छिन्, ‘भारतमा नै स्नातक गरेकाले उतै स्नातकोत्तर पनि गरौं जस्तो पनि लागेको थियो । स्नातक गरेको त समकक्षता निर्धारण भएको छैन । स्नातकोत्तर तहको त झन् हुने कुरै भएन । त्यसैले मलगायत धेरै साथीभाई ठूलो अन्यायमा परेका छौं ।’

भारतमा सीए र स्नातक पढाइ गर्दा पाँच वर्षभन्दा बढी समय र करिव १५ लाख रुपैयाँ पनि खर्च भइसकेको पुनमको भनाई छ । यसले गर्दा आफु नेपालमा किन र केका लागि बस्ने भन्ने महसुस भइरहेको उनले बताइन् ।

०००

जुम्लाको सिञ्जा गाउँपालिका–१ का राजेश खत्रीले पनि सीए पढ्नका लागि एकेडेमी अफ कमर्स बागबजार फाउण्डेसन तह उत्तीर्ण गरे । त्यसपछि उनी २०१८ मा भारतको मुम्बइमा गएर सीए पढाई सुरु गरे । उनले अहिलेसम्म सीए उत्तीर्ण नगरिसके पनि तीन वर्षे स्नातक अर्थात विकम सन् २०२० मा नै उत्तीर्ण गरिसकेका छन् ।

बिकम सक्नेवित्तिकै उनले नेपाल फर्किएर समक्षता निर्धारण गर्न खोजे । तर एक वर्ष अघिदेखि नै उनले पढेको विश्वविद्यालयबाट उत्तीर्ण गरेका विद्यार्थीले समकक्षता निर्धारण गर्ननसकेको थाहा पाएपछि निराश बने ।

उनले भने, ‘भारतमा मैले करिव ३ वर्ष समय र १० लाख रुपयाँ पैसा खर्च गरेर सीए र स्नातक पढेँ । तर, यता आउँदा त्यसलाई मान्यता नै दिएन सरकारले । अब म के गरुँ ?’

अहिले भक्तपुरको सल्लाघारीमा बस्दै आएका खत्री दुखेसो सुनाउँदै भन्छन्, ‘भारतमा मासिक ५० हजारको जागिर छोडेर आएको थिएँ । तर यहाँ आएर न पढेको समकक्षता निर्धारण भएको छ, न उच्च शिक्षा हासिल गर्न पाइएको छ न त राम्रो जागिर गर्न पाइएको छ । यति मेहनत, समय र पैसा खर्च गरेर पढ्दा पनि नपढेको जस्तो हेला भोग्नुपरेको छ ।’

०००

त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता निर्धारण रोकिएपछि भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा अध्ययन गरी फर्किएका पाँच सयभन्दा बढी विद्यार्थी समस्यामा परेका छन् । उनीहरु विगत दुई वर्षदेखि नेपालमा कुनै पनि विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् भने योग्यता अनुसारको रोजगारी पनि पाउन सकेका छैनन् ।

इन्दिरा गान्धी खुला विश्वविद्यालय विश्वका १२० देशबाट मान्यताप्राप्त शैक्षिक संथा हो । यस विश्वविद्यालयसँग नेपालको त्रिभुवन विश्वविद्यालयले समकक्षता निर्धारण गर्ने लिखित सहमति नै गरेको छ । तर, उक्त सहमति उल्लंघन गर्दै दुई वर्षदेखि समकक्षता रोकिएको हो ।

भारतमा सीए र स्नातक तथा स्नातकोत्तर तह उत्तिर्ण गरेर फर्किएका विद्यार्थी अहिले संगठित भएर समकक्षता निर्धारणका लागि आवाज उठाइरहेका छन् । भर्खरै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा भर्ना खोलेको र त्यसमा जसरी भए पनि भर्ना हुन पाउनुपर्ने यस्तै समस्याबाट पीडित रहेका अनेरास्ववियुका केन्द्रीय सदस्य सुधन महतले बताए ।

उनले भने, ‘साथीहरु एक्लाएक्लै जाँदा सबैमाथि अपमानजनक व्यवहार भएपछि हामी एकजुट भएर अघि बढेका हौ । २ वर्षअघि नियमितरुपमा भइरहेको काम एक्कासी विनासूचना रोक्न पाइँदैन । हामी यसका विरुद्ध नियमित रुपमा केन्द्रमा तथा त्रिभुवन विश्वविद्यालयमा पुगेर विरोध गर्नुका साथै छलफल पनि गरिरहेका छौ । यदि सम्बोधन भएन भने अदालत पनि जानेछौं ।’

केन्द्र भन्छः रातो किताबअनुसार रोकेको हो

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रा.डा. पारसनाथ यादवले भने नियमानुसार नै समकक्षता निर्धारण गर्ने काम दुई वर्षदेखि रोकिएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको रातो किताबमा प्राज्ञिक कार्यक्रमको मात्र समकक्षता निर्धारण गर्ने भनिएको छ । सीए व्यवसायिक कार्यक्रम भएकाले रोक लगाइएको हो ।’

उनी थप्छन् ‘पहिले कसरी दिइयो किन दिइयो मलाई थाहा छैन । तर म आएपछि रातो किताव अध्ययन गर्दा त्यस्तै पाएँ र रोक्ने निर्णय गरेका हौं ।’

इन्दिरा गान्धी खुला विश्वविद्यालयको हकमा भने निर्देशक यादवले उक्त विद्यालयमात्र नभएर अन्य खुला विश्वविद्यालयको प्रमापत्रको गुणस्तरीयतामाथी भारतीय सञ्चारमाध्यममा नै प्रश्न उठेकाले रोकिएको बताए । तर बाहिरका खुला विश्वविद्यालयमा अध्ययन गरेकालाई समकक्षता निर्धारण गर्ने कि नगर्ने भन्ने विषयमा अध्ययन गर्नका लागि अध्ययन समिति गठन भएकाले त्यसको निर्देशन अनुसार अघि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘खुला विश्वविद्यालयको बारेमा अध्ययन गर्नका लागि गिरिराजमणी पोखरेल शिक्षामन्त्री हुँदा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन समिति बनेको छ । त्यसले प्रतिवेदन तयार पारेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई बुझाई पनि सकेको छ । प्रतिवेदनमा के सुझाव र निर्देशन आउँछ, त्यसै अनुसार हामी काम अघि बढाउँछौं । त्यो निर्णय नभएसम्म हामीले केही पनि गर्न सक्दैनौं ।’

आईसीएआई र ईग्नुको पढाइ

द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ ईन्डिया (आईसीएआई) भारतमा चार्टर्ड एकाउन्टेन्सी अर्थात सिए पढाइ गराउने भारतीय कानुनद्वारा स्थापित संस्था हो । तुलनात्मक रुपमा गुणस्तरीय पढाइ र विश्वभर मान्यता दिइएकाले पनि भारतमा सीए पढ्न जाने नेपाली विद्यार्थीको संख्या ठूलै रहेकाे अनुमान गरिन्छ । त्यहाँ सट्एठ पढ्दै गर्दा विद्यार्थीले सीएसँगै इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा वाणिज्यशास्त्रमा स्नातक र स्नातकोत्तरसमेत अध्ययन गर्दै आएका छन् ।

बिकम र एमकमको पढाई आईसीएआई र इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (ईग्नु) ले संयुक्त रुपमा तयार पारेको पाठ्यक्रम हो । जब विद्यार्थीले सीए फाउण्डेसन र सीए प्रविणता प्रमाणपत्र तहको पढाइ पूरा गर्छ, त्यसपछि उसलाई वाणिज्य शास्त्रमा स्नातक तहमा भर्ना हुन अनुमति दिइन्छ । यी दुवै डिग्री भर्ना, परीक्षा, तीन वर्षे आर्टिकलसीप पूरा गरेको र सीएको सम्बन्धित तह उत्तीर्ण भएपछि मात्र दिइन्छ ।

यो समग्रमा ३ वर्षको पढाइ भएता पनि सीएका दुई तह उत्तीर्ण र तीन वर्षे इन्टर्नसिप पूरा गरिसकेका विद्यार्थीलाई मात्र पढ्ने अनुमति भएकोले विषयगत अंकभारको व्यवस्थासहित पढाइ अवधि छोट्याएर एक वर्षको बनाइएको हो । यसअन्तर्गत पढ्नुपर्ने कुल १० विषयमध्ये जम्मा ६ वटा विषयको विषयगत व्यवहारिक कार्यभार बुझाइसकेपछि परीक्षा दिन पाइने व्यवस्था रहेको छ । बाँकी विषय सीएका माथि उल्लेखित तहमा नै अध्ययन गरिसकिएको हुनाले त्यहाँ प्राप्त अंकको निश्चित अंकभार लिई अन्तिम नतिजा प्रकाशन गरिने व्यवस्था छ ।

आफूले सीए पढ्दा पढेको विषय नै विश्वविद्यालयको पाठ्यक्रममा जोडिने भएकाले यसले विद्यार्थीलाई धेरै सहज बनाएको छ भने समयको पनि बचत गराएको विद्यार्थीको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयमा के व्यवस्था छ ?

लामो समयसम्म हजारौं विद्यार्थीले सीए अध्ययनसँगै वाणिज्यशास्त्रमा स्नातक र स्नातकोत्तरको अध्ययन गर्दै आएका थिए । सोही पाठ्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले स्नातक तहको समकक्षता दिँदै आएको थियो ।

सन् २०१७ पछि भारतमा सीए अध्ययन गरेर आएकालाई नेपालमा मान्यता नदिने नेपालको आईक्यानको निर्णयपछि यो क्रम रोकिएको छ । समकक्षता लिन बाँकी रहेका प्रायः त्यस अघिका र पढाइमा अवरोध भएका थोरै बाँकी छन् ।

यकिन तथ्यांक नरहे पनि बढीमा ५ देखि ७ सय विद्यार्थीलाई समकक्षता दिन बाँकी रहेको अनुमान गरिएको छ । त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता सन् २०१९ यता रोकिएको हो ।

चार्टर्ड अकाउन्टेन्टसम्बन्धी व्यवस्था

स्नातक र सीए दुवै उत्तीर्ण भएका विद्यार्थीलाई स्नातकोतर र सीए मात्र उत्तीर्ण भएकालाई स्नातक सरह मान्यता दिँदै आएकोमा अहिले त्रिभुवन विश्वविद्यालयले सीएलाई व्यवसायिक कार्यक्रम भन्दै कुनै पनि मान्यता दिन बन्द गरेको हो । भारतमा सीए उत्तीर्ण गरेर नेपालको सीए पढाउने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट (आईक्यान) को दुईवटा विषय तथा एक वर्षे इन्टर्नसिप सकेपछि नेपालमा लेखापरीक्षक बन्न पाइन्छ ।

यसमा थप एउटा महत्वपूर्ण पक्ष पनि जोडिएको छ । सीए उत्तीर्ण गरिसकेपछि विभिन्न शैक्षिक संस्थाले सीएलाई स्नातक तह र स्नातकोत्तर तहका विभिन्न विषय पढाउन अनुमति पनि दिने गरेका छन् । तर त्रिभुवन विश्वविद्यालयले यसरी समकक्षता रोकिदिँदा त्यो चार्टर्ड एकाउन्टेन्ट शैक्षिक रुपमा हेर्दा १० प्लस टू उत्तीर्ण मात्र हुन जान्छ ।

नेपालमा स्नातक तहको पनि मान्यता दिनबाट वञ्चित गरिँदै गर्दा भारतमा भने सीएलाई भारतीय विश्वविद्यालय अनुदान आयोगले स्नातकोत्तर सरहको मान्यता दिँदै सीए उत्तीर्ण गरेपछि सिधै पीएचडी गर्न पाउने व्यवस्था गरेको छ । इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयको स्नातक र स्नातकोत्तरको डिग्री स्वतःस्फूर्त रुपमा विश्वभर मान्यताप्राप्त रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *