धान खेतभित्र माछा र हाँस पालन, अतिरिक्त आम्दानी – Nepal Press

धान खेतभित्र माछा र हाँस पालन, अतिरिक्त आम्दानी

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तिबोझाका आश्रय बडायकले ७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । त्यसो त यो क्षेत्रका सबैको मुख्य बाली धान नै हो । तर बढायकले भने खेतमा धानबाहेक आम्दानीको अरु क्षेत्र पनि समेटेका छन् । उनले धान खेतभित्र माछा पालेका छन् र हाँस पनि पालेका छन् ।

आफूसँग भएको जग्गालाई भिन्न ढंगबाट प्रयोगमा ल्याए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बडायक । धान खेलमा माछा र हाँस पनि पाल्न थालेपछि उनीसँग यो विधि सिक्न आउने किसानहरूको पनि संख्या बढिरहेको छ ।

‘धान मात्रै लगाएर पनि फाइदा भइरहेको थियो । त्यहिँ माछा र हाँस पनि पालेपछि तेब्बर फाइदा भइरहेको छ,’ उनले भने, ‘सानो क्षेत्रबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कुरा मैले अरू किसानलाई पनि सिकाउँदै आइरहेको छु ।’

गत वर्ष उनले धान र हाँस पालेका थिए । ७ कठ्ठामा २२ हजारको धान हुँदा ४८ हजारको हाँस बेचेको उनको अनुभव छ । यस बर्ष माछा पनि थप भएपछि थप फाइदा हुने भन्दै उनी उत्साहित छन् ।

‘गत वर्ष सात कट्ठामा धान भित्र हाँस पालेको निकै राम्रो भयो । यस बर्ष त्यसमा माछा पनि थपेको छु’ उनले भने ‘अर्काे बर्ष देखि अझै धेरै जग्गामा उत्पादन गर्ने लक्ष्य छ ।’

साढे छ बिगा आफ्नो जग्गा र थप साढे ३ बिगा जग्गा लिजमा लिएर कृषि पेसा गरिरहेका छन् । घर ननिकै ७ कट्ठामा धान भित्र माछा र हाँस पालेको भएपनि अन्य क्षेत्रमा धान र उखु लगाएका छन् ।

प्रविधिको प्रयोग

बिहानै खेतबारी जाने आफ्नो उत्पादनको अवस्था हेर्ने र फर्किने । बडायकको दैनिक अहिले यसरी नै बितिरहेको छ । उनी आफू मात्रै होइन घरका अरू सदस्यलाई पनि कृषि पेसा तर्फ आकर्षित गरिरहेका छन् ।

९ बर्ष पहिले बाट कृषि पेसामा रहेका रानाले पछिल्लो ६ बर्ष यता भने प्रविधिको माध्यमबाट उत्पादन बढाइरहेका छन् ।

‘कृषि पेसा मात्रै गर्न लागेको त १० वर्ष हुन थाल्यो’ उनी भन्छन् ‘तर पछिल्लो ६ वर्ष देखि प्रविधिको माध्यमबाट उत्पादन गरिरहेको छु ।’

उनले प्रविधिको माध्यमबाट उत्पादन गर्न थालेपछि मनग्गे आम्दानी समेत हुन थालेको सुनाए । उनी मौसम अनुसार धन ,गहुँ, आलु, तोरी मसुरो, उखु र मकै उत्पादन गर्ने गरेका छन् ।

बडायकले वार्षिक रुपमा २५ लाख भन्दा बढी आम्दानी गरिरहेको छन् ।

उनी धान रोप्ने देखि काट्ने सम्म प्रविधिकै माध्यबाट गर्छन् । यसले लागत कम हुने र आम्दानी बढि हुने गरेको उनी बताउँछन् । छरुवा धान प्रविधिबाट खेती गर्दा लागत कम हुने र उत्पादन बढ्ने गरेको उनले बताए ।

‘सिमिटको सिसा परियोजनाले हामीलाई प्रविधि सम्वन्धी धेरै कुराको ज्ञान दिएको छ । त्यहि ज्ञान र सिपको माध्यमबाट हामीले कृषिमा कम लगानी बढि उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘अहिले क्रमिक रुपमा सबै किसान प्रविधिसँग जोडिँदै गएका छन् ।’

सिसा परियोजनाका सुदूरपश्चिम प्रमुख लोकेन्द्र खड्काले उनलाई प्राविधिक ज्ञान दिएको बताए । उनले भने, ‘हामीले उत्पादन बढाउन र कृषिमा लाग्ने रोगहरूको बारेमा जानकारी दिने गरेका छौँ । अहिले उहाँ जस्ता अरू किसानहरूले पनि प्रविधिको माध्यमबाट कम लगानीमा मनग्य आम्दानी गरिरहनु भएको छ ।’

उखुको विउमा आफ्नै प्रविधि

उखुको बिउ पनि उनी आफै तयार गर्ने गरेका छन् । परम्परागत शैलीमा उखु लगाउँदा एक बिघा क्षेत्रफलका लागि ८० क्वीन्टल उखु चाहिन्छ । तर, उनले उत्पादन गरेको नर्सरी विधिबाट उखु लगाउँदा एक बिघाको लागि २० क्वीन्टल उखु भए पुग्ने उनको दाबी छ ।

‘३० क्वीन्टल उखुको मूल्यले त सिंचाइ खर्च र लगाउँदाको लगानी पनि उठाउँछ’ उनी भन्छन् ‘यो विधिबाट लगाएको उखुको उत्पादन पनि निकै राम्रो छ ।’

उनका अनुसार परम्परागत शैलीले लगाएको उखुबाट प्रति बिघा ५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको छ । उनले तयार गरेको नर्सरी

विउबाट प्रति बिघा १५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको उनी बताउँछन् ।

‘यस वर्ष विउ अझै राम्रो भएको छ । त्यसैले एक बिघामा २ हजार क्वीन्टल उखु उत्पादन गर्ने मेरो लक्ष्य छ,’ उनी भन्छन् ‘कृषिबाट पनि धेरै आम्दानी गर्न सकिने रहेछ भनेर अरूलाई पनि सिकाउँदै आइरहेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर