लुम्बिनी अस्पतालका प्रमुख खनाललाई हटाएकोबारे क्याबिनेटमै निर्णय नभएको खुलासा – Nepal Press

लुम्बिनी अस्पतालका प्रमुख खनाललाई हटाएकोबारे क्याबिनेटमै निर्णय नभएको खुलासा

रुपन्देही । लुम्बिनीका तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई सरकारको निर्णय भन्दै आफूखुशी हटाएको खुलेको छ ।

साउन २७ को अन्तिम मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री शंकर पोखरेललाई समेत गुमराहमा राखेर श्रेष्ठले डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेको निर्णय सार्वजनिक गरेका थिए । तर, उनलाई मेसुबाट हटाउने निर्णय माइन्युट नै नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता खगेन्द्र सुवेदीले बताए । मिडियामा कसरी समाचार आयो त्यसबारे जानकार नरहेको उनले बताए ।

मेसु नियुक्तिका लागि डा. इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको उनले स्पष्ट पारे । ‘चिठी आएको हो, तर चिठी आएर मात्र हुँदैन, मेसु परिवर्तनको आफ्नै प्रकृया हुन्छ,’ प्रवक्ताले भने, ‘मुख्य सचिवबाट माइन्युट नभएको निर्णयले कानूनी वैधता पाउँदैन ।’

अस्पताल सुधारमा उल्लेख्य काम गरेको भन्दै अधिकांशको स्याबासी पाएका खनाल बर्खास्त भएको विषयमा मुख्यमन्त्री कार्यालयले सो निर्णय गलत भनेपछि श्रेष्ठ विवादमा तानिएका छन् ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको स्वीकार गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा पनि मेसु हटाइएको निर्णय अद्यावधिक भएको छैन । पूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको दावी गरेका छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले खनाललाई हटाएर ढकाललाई मेडिकल सुपरिटेन्डेन्ट बनाउन चाहेका थिए । सोही अनुसार आफ्नो सरकार विदा हुने निश्चित भएपछि अन्तिम दिन हतार-हतार मन्त्रिपरिषद् वैठकबाट निर्णय गराउन खोजे पनि त्यो सफल नभएको स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस् :

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा यो कुरा ‘गोप्य’ राखिएको थियो । तर, पत्रकारको प्रश्नमा तत्कालीन सरकारका प्रवक्ता चौधरीले डा. खनाललाई हटाउने निर्णय भएको बताएका थिए ।

कोरोना महामारीमा राम्रो काम गरेका कारण प्रदेश सरकारले खनाललाई २०७७ फागुन १ गते ‘क’ श्रेणीको पदकले सम्मान गरेको थियो । खनालले अस्पतालको भौतिक सुधारदेखि सेवा विस्तार र स्तर वृद्धिका काम गरिरहेका थिए ।

उनकै नेतृत्वमा अस्पतालका ७२ वटा सटर हटाउनेदेखि अस्पतालको इमर्जेन्सी, आइसियू व्यवस्थापन र रेडियोलोजी विभागको स्तर वृद्धि भएको थियो । डा. खनालसँग ‘स्वार्थ नमिलेका’ कारण विभागीय मन्त्री तथा सम्बन्धित अधिकारीहरू उनलाई हटाउन लागेको टिप्पणी बढेको छ ।

तत्कालीन मन्त्री श्रेष्ठले ११ औं तहका पाँचजनालाई पन्छाउँदै जुनियरलाई सिफारिस गरेपछि यो विषय विवादित बनेको हो । कांग्रेस नेता परशुराम ढकालका छोरा डा. ईन्द्र ढकाल अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईका व्यवसायिक साझेदार भएकाले एमाले पृष्ठभूमिका मेसु राजेन्द्र खनाललाई हटाउन वातावरण तयार गरेका हुन् ।

अहिले बन्न खोजेका मेसुसहित उनको परिवार सोही सरकारी अस्पतालको नजिकै रहेको निजी अस्पतालका मुख्य साझेदारसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर