११ औं तहका पाँचजनालाई पन्छाउँदै जुनियरलाई मेसु बनाउन मन्त्रीको सिफारिस – Nepal Press

११ औं तहका पाँचजनालाई पन्छाउँदै जुनियरलाई मेसु बनाउन मन्त्रीको सिफारिस

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा पाँचजना ११ औं तहका डाक्टरहरूलाई पन्छाउँदै प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले १० औं तहका डाक्टरलाई मेडिकल सुपरिटेण्डेन्न्ट (मेसु) बनाउन सिफारिस गरेका छन् ।

यो अस्पतालमा अहिलेका मेसु राजेन्द्र खनाल, श्रीधर आचार्य, विष्णु शर्मा, वर्षा थापा, प्रभाकर चौधरी ११ औं तहका डाक्टर हुन् । मन्त्री श्रेष्ठले सिफारिस गरेका डा. इन्द्र ढकाल दशौं तहका हुन् ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा उल्लेखनीय काम गरेर प्रदेश सरकारबाट पुरस्कार पाएका मेसु खनाललाई मन्त्री श्रेष्ठले किन नरुचाएका हुन् भन्ने खुलेको छैन । यसअघिका मेसु डा. कृष्ण खनालको स्वतः अवकाशपछि डा. राजेन्द्र खनाललाई प्रदेश सरकारको क्याबिनेटको निर्णयबाट मेसु बनाएको थियो । तर, उही सरकारले उनलाई हटाउन थालेको हो ।

स्वास्थ्ययकर्मीका अनुसार खनालले अस्पतालको काम राम्रो गरे पनि केही नेताहरु र मन्त्रीको चित्त बुझाउन सकेका छैनन् । अस्पतालमा कर्मचारी भर्ना गर्ने विषयमा पनि उनले हाम्रा नभई राम्रा मान्छे राखौं भनेर नेताहरूलाई भनेका कारण पनि नेताहरु उनीसँग असन्तुष्ट छन् ।

चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सागर न्यौपानेले कोरोना संक्रमणको महामारीमा अस्पतालको नेतृत्व फेर्नु र चिकित्सकलाई अनावश्यक दबाब दिनु राम्रो नभएको बताए ।

‘म आज काठमाडौंमा छु, मैले पनि हल्ला सुनेको छु यो राम्रो सन्देश होइन,’ उनले भने, ‘राम्ररी काम गरिरहेको मान्छेलाई निरुत्साहित बनाएमा यसले गलत संस्कार बसाल्छ ।’

पूर्वमन्त्री तथा सांसद सुदर्शन बरालले डा. राजेन्द्र खनालको कार्यक्षमताले अस्पताललाई बलियो बनाए पनि महामारीको बेला उनलाई हटाएर निरुत्साहित बनाउन खोजिएको बताए ।

‘मैले पनि केही समय काम गरेँ, उहाँ आफ्नो काममा स्पष्ट भएर लाग्ने मान्छे हो, यस्तो समयमा ११ औं तहका सिनियर डक्टरलाई माइनस गरेर १० औं तहका डाक्टरलाई ल्याउन खोजेको सुनेको छु, यो सफल हुँदैन,’ उनले भने ।

बरालले मन्त्री आफैं हट्ने खतरामा रहेका बेला मेसु हटाएर भद्रगोल बनाउन खोजिएको आरोप लगाए ।

मन्त्रालय स्रोतका अनुसार डा. ढकाललाई मेसु बनाउन मन्त्री श्रेष्ठले निवेदन मागेर सोही निवेदनमा टिप्पणी उठाइसकेका छन् । तर सचिव तथा मन्त्रालयका माथिल्लो तहका कर्मचारीले अहिलेको अवस्थामा मेसु फेर्दा राम्रो सन्देश नजाने सुझाएका छन् । मन्त्री श्रेष्ठ, एमाले सचेतक भूमिश्वर ढकाललगायतले मेसु खनाललाई तत्काल राजीनामा दिन दवाव दिए पनि कर्मचारी प्रशासनले उनलाई केही दिन आफ्नो अडानमा रहन भनेको स्रोतले बतायो ।

मेसु खनालले आफूलाई हटाउन लागिएको विषयमा सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । ‘गर्नेले जस नपाउने’ उनको टिप्पणी छ ।

नेपाल प्रेसले मेसु खनाललाई यो विषयमा सोध्दा उनले यो विषय नीतिगतरूपमा टुंगाउनुपर्ने बताए ।

खनालले भने, ‘मलाई यो पद देऊ भनेर आएको होइन, आएपछि अस्पताललाई कसरी राम्रो बनाउने भनेर लागेको छु,’ उनले भने, ‘कोही व्यक्तिलाई अनावश्यक लाग्दैमा हटाइहाल्ने कुराले कसैलाई हित गर्दैन ।’

आफूले अध्यक्ष सूर्य भट्टराईसँग राम्रो समन्वय गरेर काम गरेको उनले बताए । किन हटाउन लागिएको हो भन्ने मन्त्री र सरकारलाई सोध्न उनले सुझाव दिए । एमाले नेताहरूले मेसु खनालले समग्रमा काम ठीकै गरे पनि समन्वय गर्न नसकेको तयारी जवाफ दिने गरेका छन् । अहिले प्रस्तावित मेसु चिकित्सक संघ लुम्बिनीका अध्यक्ष हुन् । उनी कांग्रेस नेता परशुराम ढकालका छोरा हुन् ।

मन्त्री श्रेष्ठले भने यो विषय नियमित प्रकृया भएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर