सिन्धुपाल्चोकमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गरिने – Nepal Press

सिन्धुपाल्चोकमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गरिने

काठमाडौं । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले सो निर्णय गरेको हो ।

यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनले भने, ‘हजारौं हजार विस्थापित मेलम्ची क्षेत्रका जनताको जनजीवनलाई सहज बनाउनका लागि चारवटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको छ । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यान्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाहरु हेलिकप्टरमार्फत् तत्काल ती क्षेत्रहरुमा लैजाने काम पनि बुधबार (भोली) बिहानैबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरो लगायतका विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका थिए । त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरुले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर