आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास ! – Nepal Press

आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

ओलीको निशानामा प्रचण्ड-माधवदेखि बाबुराम-उपेन्द्रसम्म, प्रखर प्रतिपक्षी हुने संकेत

काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।

ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो । उनले साझा कार्यक्रमको केस्रा-केस्रा केलाएर सरकारमाथि प्रहार गरे । त्यसो त उनको प्रहारको निशानामा वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै थिएनन्, सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई उनले पालैपालो हिर्काएका थिए ।

ओलीले छुन बाँकी कुनै विषय थिएन । उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादवलाई र मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराईलाई ओलीले तर्साउन खोजे । त्यस्तै ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

आफ्नो स्वभाव र शैलीअनुसार लम्बेतान भाषण गरेका ओलीले कतै बोर हुने ठाउँ भने छाडेनन् । विषयहरूलाई अतिरञ्जना गरेर होस् वा मजाक बनाएर, गाली गरेर होस वा हँसाएर उनले संसदमा प्रतिपक्षको आभास दिलाएका छन् । उनको भाषणका कैयन सन्दर्भहरू समाचार लायक थिए ।

ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

ओलीले भने, ‘हामी सरकारमा छँदा अत्यावश्यक विषयवस्तुहरू अध्यादेशमार्फत ल्याएको बेला संसद छलेर यो ल्याइयो त्यो ल्याइयो भनेर खुबै विरोध हुन्थ्यो । तर, अहिले संसद अधिवेशन चलिरहेका बेला, संसद बैठक आज छ, दुई दिनअघि बाहिर कतै सडकमा सरकारको कार्यक्रम सार्वजनिक गरिनुको मक्सद के हो ?’

यसको जवाफ पनि उनी आफैंले दिए, ‘गठवन्धनमा विभिन्न अनुहारहरू छन् । संसदमा यो कार्यक्रम ल्याउँदा त सरकारमा नभएकाहरूको उनीहरूको फोटो आउँदैन । त्यत्तिका लागि बाहिर सडकमा सार्वजनिक गरिएको हो ।’

साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

प्रचण्डलाई जवाफ

ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

एमसीसी र कालापानीको कुरा

ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

दस्तावेजका पाना पल्टाउँदै ओलीले व्यंग्य गरे, ‘अहिलेको गठवन्धन नै सरकारमा हुँदा एमसीसी गर्नुभएको जस्तो लाग्छ तपाईंहरूले । एमसीसीको बारेमा त खोइ केही पनि छैन । यति ठूलो विषय किन छुटाउनुभयो ? बिर्सिनुभयो कि क्या हो ? मैले त कतै देखिनँ ।’

उनले थपे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्री ज्यू । के गर्नुहुन्छ तपाईं ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट छ । भरर ताली बजाइदिँदा भइहाल्छ । कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ?’

कालापानीको विषयमा ओलीको टिप्पणी अझ चोटिलो थियो ।

उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

मन्त्री बनाइदिन विन्ती !

सबैलाई प्रहार गर्न भ्याएका ओलीले आफ्नै पार्टीका सहयोद्धा माधवकुमार नेपाललाई छुटाउने कुरा थिएन । यसपाली उनले नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

डेढ वर्षपछि फर्किन्छु

ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’


प्रतिक्रिया

5 thoughts on “आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

  1. झण्डै साढे ३ बर्ष सता मा ओहा बस्नु भो के त्यति बेला भ्रष्टाचार गरे का हरु लाई किन कट घेरा मा उभ्याउनु भएन जब सबै कुरा उहाँ लाई थाहा भएको कुरा हो। ओमनि कान्ड पनि उहाँ लाई थाहा होला ।ओहालाई भ्रस्टाचारि लाई कार्बाइ गर्न कुन शक्ति ले रोके को थियो

  2. भ्रष्टाचारीलाई संरक्षण दिनेले के ठूला कुरा गरेकाे हाेला, हैट

  3. Dear P.M. P.M. k.p know about all the players and figures boss
    But no things anymore introduction. because all many peoples know about of boss?

  4. केपीले प्रतेक वडाम स्वास्ते चौकी केपीवली वा प्रधानमन्त्री कार्यक्रम बेरोजगारलाई कार्यक्रम जसबाट २८ हजार बेरोजगार लाई रु ५१७x100 दिन काम दिय अब तीनलाख बेरोजगार लाई योकार्यक्रम ल्याउने कुरा अगाडी बडाय शैक्षिक ऋण बिदेशबाट फर्कनेलाई सौलेत ऋण कृषि अनुदान स्वास्थय बिमा भुकम्प ले भत्कायका अन्य बाटो पुल खरका छान चुचेनक्शा र भारतलाई सतेमा जयतकी सिहमाजयत पढाय बृदभता ४०००। जस्ता लोक प्रयकामगर्दै गरदा गठबन्दन का र पटीका गदार हरुले धेरैकामा अधुरा हुन पुगे जन्ताले मतच्याथेर सरकारमा भाडभैलो मचायर केपीलाई गलतकदम चाल्न बाध्यबनायर प्रमादेश बाट सर्कार ढाल्ने खेलखेल्ने देशको उन्अनतीको बस्थालाई छोडेर ब्यक्तिगत स्वाथ्थ तीर दगुरने गदार हरुलाई जन्ताले रामरी चीनेकाछन ।

  5. केपी वलीले गरेका राम्राकामको स्वाद नेपाली र लेपालको जुनसुकै देश र ठाउमा कुन कुन्बदरा ग्रमीणबस्ती ठुलाशान शहरमा बस्ने प्रतेक नेपालीले केपीवली कार्यक्रमको स्वाद चाखेका छन । केपीवलीलाई फेरीपनी अत्यधीक जनमतते सर्कारमा पठाउने छन । र सबैनेपालीका सपना केपीवलीले पुरागर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *