नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने – Nepal Press

नेपालले एएफसी महिला एसियन कप-२०२२ का छनोट खेल उज्वेकिस्तानमा खेल्ने

काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप-२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिए ।

‘एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको छ’ महासविच इन्द्रमान तुलाधरले भने । यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर, परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ । एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार-चार र अर्को चार समूहमा तीन-तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर