विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार – Nepal Press

विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

जनकपुरधाम । औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित पूजा मण्डल (नाम परिवर्तन)ले बच्चा जन्माएकी छन् । आपसमा प्रेम भएपछि रिलेशनसिपमा बसेका उनका प्रेमी रवीन्द्र मण्डल भने पूजा गर्भवती भएदेखि नै फरार छन् ।

पूजाले आमासँग रवीन्द्रसँगको सम्बन्धबारे गर्भवती भएपछि जानकारी गराएकी थिइन् । आमाले सामाजिक अगुवाको सहयोगमा पूजालाई रवीन्द्रको जिम्मा लगाउने प्रयास गरिन् । रवीन्द्रको परिवारले पूजालाई स्वीकारेनन्, तर टेलिफोनमा रवीन्द्रले आपसमा सम्बन्ध भएको स्वीकारे । त्यसपछि रवीन्द्र सम्पर्कमा नआएको पूजाले बताएन् ।

अहिले पूजा र बच्चाको बिचल्ली भएको छ । तीन वर्षअघि नै उनको बुवाको निधन भइसकेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नपाएपछि अल्पआयूमै पूजाको बुवाको निधन भएको थियो ।

अहिले घरमा कोही कमाउने छैन । घर चलाउन पनि मुस्किल छ । आमा पूकारीदेवी मण्डल मजदुरी गरेर जसोतसो घर चलाउँछिन् । छोरी पूजाले बच्चा जन्माएपछि लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ आमा पूकारीदेवीलाई ।

पूजाले आफूलाई गर्भवती बनाएर छाडेपछि रवीन्द्रविरुद्ध ईलाका प्रहरी कार्यालय औरहीमा उजुरी दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गराइन् । तर रवीन्द्र पक्राउ नपरेपछि प्रहरीले केही गर्न सकेका छैन ।

ऋण काडेर अस्पतालको शुल्क तिरे

पूजाको अपरेशन गरी बच्चा निकालिएको हो । अपरेशन गर्ने पैसा नभएकाले निकै कठिन भएको पूजाले बताइन् । ‘सयकडा चार रुपैयाँ ब्याजमा ६० हजार ऋण खोजेर अस्पतालको बिल तिरियो’ पूजा भन्छिन्, ‘अहिले अहिले हाम्रो बिचल्ली भएको छ ।’

रवीन्द्रका कारण समाजमा लज्जित भएर बाँच्नुपरेको पूजा बताउँछिन् । उनले भनिन्, ‘रवीन्द्रका कारण म बर्बाद भएँ । अब मसँग कसले बिहे गर्छ ? म उहाँसँगै बस्न चाहन्छु ।’ रवीन्द्रले आफूलाई अपनाउन चाहे पनि उनका आमा–बुवाले नमानेको उनको भनाइ छ ।

आमा पुकारीले पनि छोरीलाई रवीन्द्रको घरमा बस्ने वातावरण मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेकी छन् । ‘छोरीको गर्भ फालेर अरु केटासँग बिहे गरिदिनुस् भनेर रवीन्द्रका आमाबुवाले ५ लाख रुपैयाँसम्मको प्रलोभन दिएका थिए’, उनले भनिन्, ‘तर छोरीलाई गर्भवती बनाउने रबिन्द्रसँगै बिहे गर्ने अडान लिएँ । अहिले पनि म त्यहीं भन्छु ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले रवीन्द्रविरुद्ध अदालतमा जर्वजस्ती करणी वा नाताकायम सम्बन्धी मुद्दा दिन सकिने बताए । ‘यदि किशोरीले माइतमै बसेर बच्चा हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुद्दा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउनेसम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यसपछि डिएनए परीक्षण गराएर नाता प्रमाणित गराउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर