रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ – Nepal Press

रुँदै मेसीले भने- म बार्सिलोना छाड्न तयार थिइनँ

म कहाँ जान्छु निश्चित भएको छैन

काठमाडौं । बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् ।

क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

म कहाँ जान्छु निश्चित भएको छैन

अर्जेन्टिनी कप्तान तथा ६ पटकका बालोन डी’अर विजेता लियोनेल मेसीले आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताए ।
‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *