सर्पेले वडाध्यक्षविरुद्ध उजुरी दिन मानेनन्, गल्ती आफ्नै भएको बयान – Nepal Press

सर्पेले वडाध्यक्षविरुद्ध उजुरी दिन मानेनन्, गल्ती आफ्नै भएको बयान

सुर्खेत । जिल्लाको जुनीचाँदे गाउँपालिका- २ का वडाध्यक्ष रामबहादुर नेपाली एक युवकलाई कुटपिट गरेको आरोपमा तीन दिनदेखि हिरासतमा छन् । तर, पीडित भनिएका युवकले दिएको बयानले भने प्रहरीलाई नै अप्ठेरोमा पारेको छ ।

वडाध्यक्ष नेपालीले गत साउन १५ गते आफ्नै भतिज पर्ने सर्पे दमाइलाई रक्सी खाएर होहल्ला गरेको भन्दै बाँधेर नियन्त्रणमा लिएका थिए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । तर, पीडित भनिएका व्यक्ति र परिवारले अहिलेसम्म प्रहरीमा उजुरी गरेका छैनन् ।

दुई दिनदेखि सर्पे दमाईलाई काउन्सिलिङ गरिए पनि उनले वडा अध्यक्षविरुद्ध उजुरी दिन नमानेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले बताए । थापाका अनुसार सर्पेले सो घटनामा आफ्नै गल्ती भएको बयान दिएका छन् ।

यो पनि पढ्नुहोस् :

सर्पेले वडाअध्यक्षलाई फसाउन खोजिएको भन्दै उजुरी नै दिन नचाहेपछि प्रहरीले अहिले उनलाई बाहिर पठाएको छ ।

‘उहाँहरू नातेदार हुनुहुँदो रहेछ । हामीले सकेसम्म सर्पेमार्फत उजुरी दर्ता गराउने प्रयास गरेका हौं, तर सफल भएनौं,’ डीएसपी थापाले नेपाल प्रेससँग भने, ‘अनेक सूत्रहरूमार्फत प्रयास गर्दा पनि सर्पेको आमा र सर्पेले जाहेरी दिन नमानेपछि अहिले हामीले उनलाई बाहिर पठाइदिएका छौं ।’

सामाजिक सञ्जालमा आएको भिडियोलाई नै आधार मान्दै वडाध्यक्षविरुद्ध अभद्र व्यवहारसम्वन्धी मुद्दा चलाइएको उनले बताए ।

‘वडाध्यक्ष हाम्रै नियन्त्रणमा छन्, उहाँलाई जिल्ला अदालतबाट म्याद थप गराइ आवश्यक अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘वडाध्यक्षको कुनै पनि गल्ती नभएको र राजनीतिकरूपमा फसाउने खेल भएको भनेर पीडितकै आफन्तले छाडिदिन आग्रह गरिरहेका छन् ।’

साउन १५ गते सर्पेले मदिरा सेवन गरी होहल्ला गरेको पुष्टी भएको बताउँदै डीएसपी थापाले सो दिन प्रहरी घटना भएको दुई घण्टामा पुग्दा मिलापत्र भइसकेको बताए ।

‘घटना घटेको दुई घण्टापछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ उनीहरूबीचमा मिलापत्र भइसकेको थियो । सोही आधारमा प्रहरीले कागज गराएर छोडेको थियो,’ उनले भने, ‘सामाजिक सञ्जालका आधारमा उनलाई समात्यौं, तर पीडितले जाहेरी नै नदिएपछि समस्या भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर