मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो) – Nepal Press

मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो)

सुर्खेत । जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर विश्वकर्माले एक युवकमाथि बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष रामबहादुर विश्वकर्माले ती युवकको आमा र बुवाको आग्रहमा उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको नेपाल प्रेसलाई बताएका छन् ।

वडा अध्यक्षले ती यूवालाई नियन्त्रणमा लिएर डोरीले बाँधेको भिडियोमा देखिन्छ । त्यस क्रममा उनले हातपात पनि गरेका छन् । युवक भने रक्सीले मातेको अवस्थामा लडिबुडी गरिरहेका छन् ।

घटना विवरण अनुसार साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम थियो । दुई सय पचासभन्दा बढी स्थानीयवासी भेला भएका थिए । वडा कार्यालयका कर्मचारी, वडाध्यक्ष लगायत सबै सामाजिक सुरक्षा भत्ता वितरणमा व्यस्त थिए । सर्पेका बुवाआमाले पनि मासिक वृद्धभत्ता भत्ता पाउने गरेका छन् । आमा चन्द्रा नेपालीका अनुसार वृद्धभत्ता बुझ्न जाँदै गर्दा बीचबाटोमा छोराले उनीहरु दुवैलाई कुटेका थिए ।

‘उसलाई अरुले नै रक्सी खुवाएर उचालेका रहेछन् । रक्सीले मातेर हामीलाई कुटेपछि छोरा वडा कार्यालयमा आयो । हामी पनि यहाँ आयौं । वडा अध्यक्ष  देवर नाता पर्छन् । मैले उनलाई छोरालाई बाँधेर राखिदिनुस भनेर भनेकी थिएँ । उसलाई नियन्त्रणमा लिन उहाँहरुलाई हम्मेहम्मे भएको थियो,’ चन्द्राले नेपाल प्रेससँग भनिन् । त्यहाँबाट प्रहरी चौकीमा लिएर गएको उनले बताइन् । चौकीमा आइन्दा रक्सी नपिउने कागज गराएर उनैले छुटाएकी थिइन् । वडा अध्यक्षले छोरालाई नकुटेको चन्द्राले बताइन् ।

उनले भनिन, ‘धेरै रक्सी खाएको थियो । मनपरी बोलिरहेको थियो । वडाध्यक्षलाई नै छोराले ढुंगाले हानेको हो । त्यही भएर उसको हात बाँध्नु भएको हो ।’ मिलेर बसेको परिवारलाई भाँड्का लागि यो खेल भएको आशंका उनले व्यक्त गरिन् । ‘हामी मिलेर बसेका छौं । मिल्न चाहन्छौं । यो ठूलो घटना पनि होइन । जे पायो त्यही लेखेर बेइज्जत गर्ने काम भएको छ । दुःख लाग्यो,’ उनले भनिन् ।

हात बाँधेको मात्र होः वडाध्यक्ष विश्वकर्मा

वडा अध्यक्ष विश्वकर्माले वडा कार्यालय जलाइदिन्छु भन्ने तथा कार्यालयमा आएका सेवाग्राहीलाई ढुंगाले हान्ने गरेपछि नाताले भतिजा नाता पर्ने सर्पेलाई हात बाँधेर नियन्त्रणमा राखेको बताए । ‘मैले उसलाई हातपात गर्नुपर्ने कुनै कारण थिएन । वडा कार्यालयमा आएर उद्दण्डता मच्चाएपछि मैले उसलाई नियन्त्रणमा लिएको हो,’ उनी भन्छन्, ‘अरु भएको भए म सोझै प्रहरीलाई नियन्त्रणमा लिन भन्थें, आफन्त भएका कारण सुरुमा आफैंले सम्झाउन खोजेको हुँ । तर केही व्यक्तिले भिडियो सञ्जालमा हालेर मेरो वेइज्जत गर्ने काम गरेका छन् ।’ प्रहरीले जिल्लामा पठाइदिन्छु भन्दा आफूले नै एक पटकलाई माफी दिन आग्रह गरेको उनले बताए ।

https://www.youtube.com/watch?v=iZkTGdRsIuI


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *