हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने – Nepal Press

हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

चौतारा । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालबाट पोष्टमार्टम रिपोर्ट आएपछि अरु प्रक्रिया अघि बढाउन सहमती जनाएका छन् ।

शुक्रबार पोस्टमार्टम गर्न खोजीएपनि समय अभावको कारणले सम्भव नभएको र शनिबार मात्रै पोष्टमार्टमको रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । मृतकका आफन्तहरुबाट जाहेरी आएको छ, पोष्टमार्टमको रिपोर्टमा प्रहरीको कुटपिटबाट मृत्यु भएको देखियो भने कानुन अनुसार कारवाही हुनुर्ने जाहेरीमा छ । डीएसपी बस्नेतले भने-‘अब अरु सबै प्रक्रिया पोष्टमार्टम रिपोर्ट पछि मात्रै सुरु हुन्छ ।’

हिरासत भित्र युवकको मृत्यु भएपछि गाउँका सयौँ स्थानीय प्रहरी कार्यालयमा आएका थिए । हामीले घटनाको बारेमा सबै जानकारी गराएका छौं, सीसीटीभी फुटेज पनि देखाएका छौं, घटनाको अनुसन्धानमा खटिएको डीएसपी बस्नेतले भने-‘पक्राउ परेको भोलिपल्ट पनि उनी बिरामी भएपछि आफन्तलाई जानकारी गराएर अस्पतालमा लगेका थियौं ।’

चोरी आरोपमा इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका बाह्रविसे नगरपालिका-७ घुम्थाङका युवाको उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बाह्रविसेका मेयर भन्छन् : निष्पक्ष छानविन होस्

प्रहरी हिरासतमा आफ्नो नगरको स्थानीय मृत्यु भएपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले घटनाको निष्पक्ष छानविनका लागि अनुरोध गरेका छन् । मेयर शेर्पाले सामाजिक सञ्जाल मार्फत मानवअधिकारकर्मी, सञ्चारकर्मी, पीडित पक्ष सबैलाई सहभागी गराएर निष्पक्ष छानविन समिति गठन गर्न आग्रह गरेका छन् ।

प्रहरीको कडा सुरक्षा घेरा भित्र हिरासत कक्षमा रहेका युवाको मृत्यु हुनु दुःखद हो, बाह्रविसे नगरपालिका यस घटनाप्रति दुःख व्यक्त गर्दछ । घटनाको निष्पक्ष छानबिनका लागि हामी अनुरोध गर्दछौ मेयर शेर्पाले भनेका छन् ।

बाह्रविसे नगरपालिकाको न्यायिक समितिले पनि घटनाको बारेमा अध्ययन गर्ने बताउदै मेयर शेर्पाले पोष्टमार्टम रिपोर्ट दिएपछि त्यही रिपोर्टको आधारमा सत्यतथ्य बाहिर आउने विश्वास गरेका छन् । पोष्मार्टमाको रिपोर्टबाट सबै कुरा थाहा हुने भएकाले त्यो रिपोर्ट नआउदासम्म कोही पनि उत्तेजित नहुनका लागि सबैमा विनम्र अनुरोध गर्दछु मेयर शेर्पाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर