बत्ती जडानको नाममा समन्वयबिना पीच सडक भत्काउँदै वीरेन्द्रनगर नगरपालिका – Nepal Press

बत्ती जडानको नाममा समन्वयबिना पीच सडक भत्काउँदै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत । सडक वत्ती राख्ने नाममा वीरेन्द्रनगर नगरपालिकाले भर्खरै पीच गरेको सडक खन्न थालेकोमा कर्णाली पूर्वाधार निर्देशनालयले गुनासो गरेको छ ।

शिवालय चोक–अख्तियार–घण्टाघरपार्क हुँदै बसपार्क जाने सडकको पिपलचौतारा नजिक नगरपालिकाले कालोपत्रे गरिएको सडक मुनिबाट तार लैजान मनोमानी रुपमा सडक भत्काएको छ । साढे चार इन्च बाक्लो कालोपत्रे नै भत्काएर नगरपालिकाले तार राखेपछि स्थानीयवासीसमेत आक्रोशित बनेका छन् ।

पूर्वाधार निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले ‘हाइम्याक्स लाइट’ राख्ने भन्दै कार्यालयसँग समन्वय नै नगरी नगरपालिकाले मनपरि सडक भत्काएको गुनासो गरे ।

श्याम एण्ड शंकर जेभीले कालोपत्रे गरेर पूरै भुक्तानी नसिलइसकेको उक्त योजनाका लागि निर्देशनालयले एक करोड पचास लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त कम्पनीले ९ करोड २२ लाख रुपैंयामा उक्त सडक निर्माणको ठेक्का पाएको थियो । तर कम्पनीले सडक हस्तान्तरण नगर्दै कालोपत्रे मनलाग्दी रुपमा भत्काउन थालेपछि सठकको गुणस्तर खस्किने सम्भावना देखिएको धितालको भनाई छ ।

उक्त सडक खण्डमा तीन मिटर जति ‘व्ल्याक स्टोन’ राख्न बाँकी रहेको उनको भनाई छ । ‘स्थानीय दुई जनाले घर अगाडी स्टोन राख्न दिएका छैनन् । उनीहरुका कारण पनि सडक हस्तान्तरण गर्न ढिलाई भइरहेको छ,’ धिताल भन्छन्, ‘यसले काममा ढिलाई भइरहेको छ । राजनीतिक नेतृत्वकै आफन्तले घर अगाडी राख्न दिएका छैनन् । एक पटक राखेको स्टोनलाई उनीहरुले उखेलेर कुनामा थन्क्याइदिएका छन् ।’

उनले विकास निर्माणमा सहयोगी हुनुपर्ने व्यक्ति नै असहयोगी बनिरहेको दुखेसो पोखे ।

नगरपालिकाले सडक खन्न थालेकोमा स्थानीय वासिन्दा पनि सन्तुष्ट छैनन् । ‘यो बाटो राम्रो बनेको थियो । फेरि नगरपालिकाले भत्काएछ,’ स्थानीय रमेश शाही भन्छन्, ‘एक कार्यालयले बनाउने, अर्को कार्यालयले भत्काउन थाले भने विकास कति दिन टिक्ला र ?’

यता, नगरपालिकाले भने उक्त भत्काएको सडकलाई पुनः कालोपत्रे गरिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर